काठमाडौं । भारतको उत्तर प्रदेशमा केही दिनदेखि भइरहेको लगातार वर्षाका कारण नदीहरूको जलस्तर बढ्दा विभिन्न जिल्लामा बाढी र डुबानको समस्या गम्भीर बनेको छ।
बाढीका कारण घर, पसल तथा सडकमा पानी पसेपछि सर्वसाधारणको दैनिक जीवन प्रभावित भएको छ।वर्षाका कारण घर तथा पर्खाल भत्किँदा प्रदेशका विभिन्न स्थानमा कम्तीमा ७ जनाको मृत्यु भएको जनाइएको छ। चित्रकुटमा मन्दाकिनी नदीको पानी घाट र सडकसम्म पुगेपछि नदी आसपासका २५० भन्दा बढी परिवार जोखिममा परेका छन्।बराछ गाउँमा कच्ची घरको पर्खाल र छाना भत्किँदा ३५ वर्षीय कल्लु यादवसहित उनका दुई बालबालिकाको ज्यान गएको छ। यस्तै, सीतापुरमा दुई महिला, बहराइचमा एक बालिका र बाराबंकीमा एक जनाको मृत्यु भएको बताइएको छ।कानपुरमा पाण्डु नदीको जलस्तर बढेपछि करिब १० क्षेत्रमा बाढीको अवस्था सिर्जना भएको छ। गोपालपुरम र जरौली फेज–२ मा बाढीको पानीमा फसेका करिब २५ परिवारलाई राष्ट्रिय विपद् प्रतिकार्य बल (एनडीआरएफ) ले उद्धार गरेको छ। कानपुरमा मात्रै करिब ३४ हजार मानिस बाढीबाट प्रभावित भएको बताइएको छ।यता अम्बेडकरनगर, बाराबंकी, अयोध्या र बहराइचमा सरयु नदीको पानी बस्ती क्षेत्रमा फैलिएको छ। केही स्थानमा नदीको जलस्तर खतराको तहभन्दा माथि पुगेको छ। वाराणसीमा गंगाको पानी पनि खतराको तह नजिक पुगेको छ।बाढीका कारण धेरै घाट डुबानमा परेका छन् भने वरुणा नदीको पानी बस्तीमा पस्दा केही परिवार सुरक्षित स्थान र राहत शिविरमा जान बाध्य भएका छन्।उत्तर प्रदेश सरकारले बाढी र नदी कटानबाट प्रभावित परिवारलाई राहत उपलब्ध गराउनुका साथै आवश्यक परे आवास सहयोगसमेत गर्ने जनाएको छ।