काठमाडौं । फ्रान्समा महँगी, जीवनयापनको बढ्दो लागत र विद्यालयमा देखिएका समस्याविरुद्ध भएको प्रदर्शन हिंसात्मक बनेपछि प्रहरीले १ हजार २०० भन्दा बढीलाई पक्राउ गरेको छ।
शनिबार देशभर भएको प्रदर्शनमा करिब ५ लाख ५० हजार मानिस सहभागी भएको फ्रान्सेली सरकारले जनाएको छ। प्रदर्शनका क्रममा राजधानी पेरिससहित विभिन्न सहरमा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको थियो। प्रहरीले भीड नियन्त्रण गर्न अश्रुग्यास र पानीको फोहोरा प्रयोग गरेको थियो। केही स्थानमा भवन तथा सवारीसाधनमा आगजनी हुनुका साथै पसलहरूमा लुटपाट र तोडफोडका घटना भएका छन्। पेरिसमा प्रदर्शनको सुरुवाती चरण शान्तिपूर्ण रहे पनि साँझपख स्थिति तनावग्रस्त बनेको थियो। प्रदर्शनकारीका केही समूहले सडकमा आगो लगाउनुका साथै सवारीसाधन जलाएका थिए। विभिन्न पसल र व्यवसायमा तोडफोड तथा लुटपाटसमेत भएको बीबीसीले जनाएको छ।
लिमोजमा नगरपालिकाको भवनमा लागेको आगोका कारण छानाको केही भाग भत्किएको छ। लियोनमा पर्यटक सूचना केन्द्रमा आगजनी भएपछि नगरप्रमुख ग्रेगोरी डुसेले घटनाप्रति दुःख व्यक्त गरेका छन्। त्यस्तै, सेन्ट–इटियनमा ग्रिनेड विस्फोटबाट एक युवक गम्भीर घाइते भएको स्थानीय नगरप्रमुखले बताएका छन्। फ्रान्सका प्रधानमन्त्री सेबास्टियन लेकोर्नुका अनुसार प्रदर्शनका क्रममा १५० जना प्रहरी घाइते भएका छन्। उनले प्रदर्शनका नाममा भएको हिंसालाई गम्भीर भन्दै राजनीतिक उद्देश्य पूरा गर्न हिंसा स्वीकार्य नहुने बताएका छन्।
प्रदर्शनमा माध्यमिक विद्यालयका विद्यार्थी, ट्रेड युनियनका सदस्य तथा विभिन्न विरोध समूह सहभागी भएका थिए। पछिल्ला साताहरूमा विद्यालयमा कर्मचारी अभाव र कमजोर पूर्वाधारको विरोधमा विद्यार्थीहरूले प्रदर्शन गर्दै आएका थिए। बढ्दो महँगी र इन्धनको मूल्यवृद्धिप्रति असन्तुष्ट समूह पनि आन्दोलनमा सहभागी भएका हुन्। फ्रान्समा यसअघि पनि महँगी र जीवनयापनको लागतविरुद्ध व्यापक प्रदर्शन हुँदै आएको छ। सन् २०१८ देखि चर्चामा आएको ‘येलो भेस्ट’ आन्दोलन त्यसको एउटा उदाहरण हो।
यसपटकको प्रदर्शन फ्रान्समा राजनीतिक अनिश्चितता बढिरहेका बेला भएको हो। आगामी वर्ष हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गर्दै विभिन्न राजनीतिक दलका नेताहरूबीच आरोप–प्रत्यारोपसमेत सुरु भएको छ। राष्ट्रपति इमानुएल म्याक्रोंले सरकारी कार्यालय, व्यवसाय र नगरपालिकाका भवनमा तोडफोड तथा लुटपाट गर्नेहरूलाई कानुनी कारबाही गरिने बताएका छन्। सरकारले विद्यालयका लागि थप ३ हजार अस्थायी शिक्षक उपलब्ध गराउने प्रतिबद्धता जनाए पनि प्रदर्शन रोकिएको छैन।