काठमाडौं ।रसुवामा बाढीबाट प्रभावित नागरिकका लागि चीनले पठाएको आपत्कालीन राहत सामग्रीको तेस्रो खेप बिहीबार नेपाल आइपुगेको छ।
चिनियाँ जनमुक्ति सेनाको वायुसेनाको ठूलो क्षमताको वाई–२०ए मालवाहक विमानमार्फत राहत सामग्री त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याइएको हो।यसपटक राहत सामग्रीसँगै चीनबाट १० जना फरेन्सिक विज्ञ पनि नेपाल आएका छन्। चिनियाँ विज्ञहरूको यो चौथो टोली हो। उनीहरूले बाढीमा ज्यान गुमाएकाहरूको पहिचान गर्न नेपाल सरकारलाई प्राविधिक सहयोग गर्नेछन्।विमानस्थलमा आयोजित राहत हस्तान्तरण कार्यक्रममा नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन सहभागी भएका थिए। मन्त्री पुनले नेपाल आएका चिनियाँ विज्ञ टोलीको स्वागत गरेका थिए।चीनले पठाएको राहतमा शव राख्ने फ्रिजर, महामारी नियन्त्रणका सामग्री तथा दैनिक उपभोग्य वस्तुहरू रहेका छन्। साथै, बाढीबाट क्षतिग्रस्त संरचना पुनःस्थापना गर्न आवश्यक बेली ब्रिज पनि राहत सामग्रीमा समावेश गरिएको छ।बेली ब्रिज जडानका लागि चाहिने केही विशेष उपकरण भने स्थलमार्गबाट लिजी–नेचुङ नाकासम्म ल्याइसकिएको जनाइएको छ।