काठमाडौं । नेपाल–चीन सीमा क्षेत्रमा आएको हिमपहिरोपछि भोटेकोशी र त्रिशूली नदीमा आएको भीषण बाढीले रसुवा, नुवाकोट र धादिङमा ठूलो क्षति पुर्याएको छ।
बाढीको गम्भीर असर निर्माणाधीन २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली–१ जलविद्युत् आयोजनामा समेत परेको छ।आयोजना प्रवर्धक कम्पनीका अनुसार बाढीले निर्माणको अन्तिम चरणमा रहेको बाँध, आयोजनाका विभिन्न संरचना, कार्यालय तथा कर्मचारी आवास क्षेत्रमा ठूलो क्षति पुर्याएको छ। बाढी र लेदो अत्यन्त छोटो समयमा आयोजनास्थलमा प्रवेश गरेपछि त्यहाँ कार्यरत धेरै कर्मचारी तथा श्रमिक सुरक्षित स्थानमा जान नसकेको बताइएको छ।आयोजनामा नेपालीसहित कोरियाली, चिनियाँ, भारतीय तथा अन्य देशका गरी करिब १ हजार ४ सय ३३ जना जनशक्ति कार्यरत थिए। बाढीपछि ८ सय ७६ जनाको उद्धार भइसकेको भए पनि ५ सय ५७ जना अझै सम्पर्कविहीन रहेको कम्पनीले जनाएको छ।सम्पर्कविहीनमध्ये करिब १ सय १५ जना हेडवक्र्स तथा मुख्य सुरुङ क्षेत्रमा फसेको आशंका गरिएको छ। बाक्लो लेदो, कठिन भौगोलिक अवस्था, सुरुङभित्रको जोखिम र खराब मौसमका कारण खोज तथा उद्धारमा थप चुनौती देखिएको छ।
बेपत्ताको खोजीका लागि नेपाल सरकारका सम्बन्धित निकायसँग समन्वय गर्दै चीन र दक्षिण कोरियाबाट प्राविधिक विज्ञ तथा आवश्यक उपकरणसहितका टोली परिचालन गरिएको छ। नेपाली सेना, अन्य सुरक्षा निकाय तथा विशेष उद्धार टोलीले ड्रोन र हवाई स्क्यानिङलगायत प्रविधिको प्रयोग गरेर खोजी जारी राखेका छन्।सुरुङ तथा हेडवक्र्स क्षेत्रमा जमेको पानी र लेदो हटाउन पम्प तथा जेनेरेटर पठाइएको छ। आयोजनाले बेपत्ता कर्मचारीका परिवारसँग सम्पर्कमा रहेर आवश्यक परामर्श दिइरहेको जनाएको छ। उद्धारलाई तीव्र बनाउन सरकारी संयन्त्रसँग निरन्तर समन्वय भइरहेको कम्पनीको भनाइ छ।