काठमाडौं । नेपाली कांग्रेस संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले विपद्का बेला नागरिकको ज्यान जोगाउने, राहत पुर्याउने र प्रभावितको पुनर्स्थापनामा सहयोग गर्नु सबै पक्षको साझा दायित्व भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभाको बैठकमा कांग्रेसका तर्फबाट धारणा राख्दै आङ्देम्बेले भोटेकोशी बाढीपछि आफूहरू प्रभावित क्षेत्रमा पुगेर अवस्थाको प्रत्यक्ष जानकारी लिएको बताए। घटनाबारे प्रधानमन्त्री र सभामुखलाई जानकारी गराउँदै संसद् बैठक आह्वान गर्न समेत आग्रह गरिएको उनले उल्लेख गरे।आङ्देम्बेले विपद्को अवस्थामा नेपाली कांग्रेस सरकारको साथमा रहेको स्पष्ट पारे। तर सरकारको समर्थन गर्नुको अर्थ उसका सबै कामप्रति आँखा चिम्लनु नभएको उनको भनाइ थियो। सरकारले राम्रो काम गरे सहयोग गर्ने र कमजोरी देखिए प्रश्न उठाउँदै खबरदारी गर्ने उनले बताए।बाढी गएको लामो समय भइसक्दा पनि सबै अवस्था सामान्य भइसकेको भन्न नमिल्ने भन्दै उनले खोज तथा उद्धारमा देखिएको ढिलाइलाई गम्भीर रूपमा लिन सरकारसँग आग्रह गरे।उनले आवश्यक परे अन्तर्राष्ट्रिय सहयोग र विशेषज्ञ जनशक्ति तत्काल परिचालन गर्नुपर्ने बताए। सुरुङमा फसेकाको उद्धारका विषयमा गृहमन्त्री स्वयं घटनास्थलमा पुगेको प्रसङ्ग उल्लेख गर्दै आङ्देम्बेले उच्च पदाधिकारीभन्दा दक्ष उद्धार टोलीलाई प्रभावकारी रूपमा परिचालन गर्नुपर्ने धारणा राखे।