काठमाडौँ । नेपालीहरूको महान् पर्व बडादसैँको मुख्य दिन विजया दशमी आज देशभर हर्षोल्लासका साथ मनाइँदै छ।
आज मान्यजनबाट रातो टीका, जमरा तथा दुर्गा भवानीको प्रसाद ग्रहण गरी आशीर्वाद लिने परम्परा छ। नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अनुसार यस वर्ष विजया दशमीको उत्तम टीकाको साइत बिहान १० बजेर २६ मिनेटमा रहेको छ। यद्यपि, विजया दशमी आफैँमा शुभ दिन भएकाले सर्वसाधारणले टीका लगाउन अनिवार्य रूपमा साइत कुर्नु नपर्ने समितिले जनाएको छ।
घटस्थापनाका दिन विधिपूर्वक स्थापना गरिएको कलशको जलबाट अभिषेक गरी मान्यजनको हातबाट टीका र जमरा लगाउने धार्मिक परम्परा छ। यस दिन परिवारका सदस्य, आफन्त तथा इष्टमित्रबीच भेटघाट गर्दै सुख, शान्ति, समृद्धि र दीर्घायुको कामनासहित आशीर्वाद आदानप्रदान गरिन्छ।
टीका लगाउँदा कुन दिशातर्फ फर्कने ?
धर्मशास्त्रविद्हरूका अनुसार यस वर्ष विजया दशमीका दिन टीका थाप्ने व्यक्ति पश्चिम फर्कनुपर्ने र टीका लगाइदिने व्यक्ति पूर्व फर्केर बस्नुपर्ने मान्यता छ। चन्द्रमाको अवस्थाका आधारमा यस्तो दिशा निर्धारण गरिएको बताइन्छ। समितिका अनुसार घटस्थापनाका दिन पूजा आराधना गरी स्थापना गरिएका देवीदेवताको विसर्जन गर्ने साइत बिहान ८ बजेर ४९ मिनेटमा रहेको छ।
असत्यमाथि सत्यको विजयको प्रतीक
आश्विन शुक्ल दशमीका दिन मनाइने विजया दशमीलाई असत्यमाथि सत्य र आसुरी शक्तिमाथि दैवी शक्तिको विजयको प्रतीकका रूपमा लिइन्छ। धार्मिक मान्यताअनुसार त्रेतायुगमा भगवान् रामले रावणमाथि विजय प्राप्त गरेको सम्झनामा यो पर्व मनाउन थालिएको हो। दसैँमा रातो टीका र पहेँलो जमरा लगाउनुका साथै ठूलाबडाबाट यश, ऐश्वर्य, ज्ञान, शक्ति र दीर्घायुको आशीर्वाद लिने चलन छ। विजयादशमीले पारिवारिक एकता, आपसी सद्भाव र सामाजिक सम्बन्धलाई थप प्रगाढ बनाउने विश्वास गरिन्छ। यस वर्ष कोजाग्रत पूर्णिमा कात्तिक ८ गते आइतबार परेको छ। त्यस दिनसम्म मान्यजनबाट टीका, जमरा र आशीर्वाद ग्रहण गर्ने परम्परा पनि रहेको छ। विजया दशमीका अवसरमा देशभरका घरपरिवारमा उत्सवको रौनक छाएको छ भने टाढा रहेका आफन्तसमेत घर फर्किएर परिवारसँग पर्व मनाइरहेका छन्।