काठमाडौं । उदयपुरको कटारी नगरपालिका–६ बाँकेटारस्थित शान्तिवन वन क्षेत्रमा प्रहरीले ठूलो परिमाणमा गाँजा बरामद गरेको छ।
प्रहरीले लुकाएर राखिएको अवस्थामा १ हजार १ सय २२ दशमलव ६७ किलोग्राम गाँजा नियन्त्रणमा लिएको हो।जिल्ला प्रहरी कार्यालय उदयपुरका अनुसार जंगलभित्र ५२ वटा बोरामा प्याक गरेर राखिएको गाँजा फेला परेको थियो। बरामद गाँजाको ओसारपसार तथा कारोबारमा संलग्न रहेको आशंकामा तीन जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ।पक्राउ पर्नेमा ताप्ली गाउँपालिका–१ डाँडागाउँका रामबहादुर मगर, नेकबहादुर मगर र पृथ्वीराज मगर रहेका छन्। उनीहरूलाई इलाका प्रहरी कार्यालय कटारीमा राखेर घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।गाँजा ओसारपसारमा प्रयोग भएको हुनसक्ने आशंकामा प्रहरीले बा १६ च ५२६९ नम्बरको बोलेरो गाडीसमेत नियन्त्रणमा लिएको छ।प्रहरीका अनुसार बरामद गाँजा, पक्राउ परेका व्यक्तिहरू तथा नियन्त्रणमा लिइएको सवारीसाधनबारे थप अनुसन्धानपछि घटनाको वास्तविक विवरण खुल्नेछ।