काठमाडौं । रसुवाको भोटेकोसीमा आएको विनाशकारी बाढीपछि जारी खोज तथा उद्धार अभियानका क्रममा हालसम्म ९ सय ३ जनाको शव फेला परेको छ।
अझै ४ हजार २ सय ४७ जना सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।प्राधिकरणका अनुसार बाढी प्रभावित विभिन्न क्षेत्रबाट अहिलेसम्म १० हजार ४ सय ५१ जनाको उद्धार गरिएको छ। उद्धारसँगै बेपत्ता व्यक्तिको खोजी कार्यलाई पनि निरन्तरता दिइएको छ।फेला परेका शवमध्ये सबैभन्दा धेरै चितवनमा २ सय ७२ जना रहेका छन्। नवलपरासी पूर्वमा २ सय ७, नवलपरासी पश्चिममा १ सय ५१, नुवाकोटमा ९५, गोरखामा ६२, धादिङमा ५५, तनहुँमा ३७, रसुवामा २४ र अन्य प्रभावित क्षेत्रमा समेत शव फेला परेको प्राधिकरणको विवरणमा उल्लेख छ।सम्पर्कविहीन हुनेमा सुरक्षाकर्मी तथा विभिन्न सरकारी कार्यालयका कर्मचारीसमेत छन्। विवरणअनुसार नेपाल प्रहरीका २५, नेपाली सेनाका ४५ र सशस्त्र प्रहरी बलका १३ जना अझै सम्पर्कमा आएका छैनन्। त्यस्तै, भन्सार कार्यालयका १५ तथा अध्यागमन कार्यालयका ३ जना पनि बेपत्ता रहेको जनाइएको छ।
जलविद्युत् आयोजनामा कार्यरत ९ सय ३३ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणले जनाएको छ। यसबाहेक मकवानपुरका ६५ जना, विदेशी नागरिक ५ सय ९२ जना तथा नेपाल भ्रमणमा आएका विदेशमा बस्ने नेपाली नागरिकमध्ये १ सय २७ जनाको अवस्था अज्ञात रहेको छ।लाङटाङ राष्ट्रिय निकुञ्जका ३ जना पनि सम्पर्कविहीन रहेको प्राधिकरणको पछिल्लो विवरणमा उल्लेख छ।बाढी प्रभावित क्षेत्रमा खोजी तथा उद्धार कार्य जारी रहेकाले मृतक र सम्पर्कविहीनको संख्या थप अद्यावधिक हुन सक्ने प्राधिकरणले जनाएको छ।