काठमाडौं । रसुवाको भोटेकोशी क्षेत्रमा आएको विनाशकारी बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवारका सदस्यहरू काठमाडौंका अस्पतालमा पुगिरहेका छन्।
घाइते तथा मृतकको विवरण बुझ्न र बेपत्ता व्यक्तिको जानकारी दिन महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पतालमा आफन्तहरूको भीड बढेको छ।अस्पताल पुगेका परिवारका सदस्यहरू मोबाइलमा सुरक्षित तस्बिर बोकेर आफन्तको खोजी गरिरहेका छन्। कसैले प्रहरीलाई नाम, ठेगाना र सम्पर्क विवरण उपलब्ध गराएका छन् भने कतिपयले अस्पतालमा राखिएको घाइते तथा मृतकको सूचीमा आफ्ना आफन्तको नाम छ कि भनेर खोजिरहेका छन्।बाढीपछि आफ्ना परिवारका सात जना सदस्य सम्पर्कविहीन भएपछि सोनाम तामाङ र रूपा घले पनि आफन्तको खोजीमा शिक्षण अस्पताल पुगेका छन्। उनीहरू बेपत्ता भएका व्यक्तिका तस्बिर देखाउँदै अस्पतालमा रहेका विवरणसँग मिलाउने प्रयास गरिरहेका छन्।रूपा घलेका अनुसार सम्पर्कविहीनमध्ये केही स्याफ्रुबेँसी र केही टिमुरे आसपासबाट हराएका हुन्। उनका अनुसार परिवारकी एक सदस्य टिमुरेभन्दा माथिल्लो क्षेत्रमा शिक्षिकाका रूपमा कार्यरत थिइन् र उनीसँग दुई वर्षको बच्चा पनि थियो। बाढी आएको दिनदेखि उनीहरूसँग कुनै सम्पर्क हुन नसकेको परिवारले जनाएको छ।आफन्तको अवस्था थाहा पाउन उनीहरू अस्पतालमा नाम दर्ता गराउने, घाइतेको सूची हेर्ने र मोबाइलमा रहेका तस्बिर देखाउने काम गरिरहेका छन्। परिवारका सदस्यहरू अझै पनि कतै घाइते अवस्थामा आफन्त भेटिने आशामा अस्पताल धाइरहेका छन्।बेपत्ता आफन्तको खोजीमा त्रिवि शिक्षण अस्पतालबाहेक वीर अस्पताल र राष्ट्रिय ट्रमा सेन्टरमा पनि परिवारका सदस्यहरू पुगिरहेका छन्। प्रहरीले अस्पतालमा आउने आफन्तबाट बेपत्ता व्यक्तिको नाम, ठेगाना, सम्बन्ध र सम्पर्क नम्बरलगायत विवरण संकलन गरी खोजी प्रक्रियामा समन्वय गरिरहेको जनाएको छ।बाढीपछिको अन्योलपूर्ण अवस्थाबीच परिवारहरू आफन्तको एउटा खबरको प्रतीक्षामा अस्पतालदेखि सम्बन्धित निकायसम्म पुगिरहेका छन्।