काठमाडौं । नेपालमा आएको भीषण बाढीपछि नदीको बहावसँगै भारत पुगेका हुनसक्ने सातवटा शव उत्तर प्रदेशका विभिन्न स्थानमा फेला परेका छन्।
भारतीय सञ्चारमाध्यम बीबीसी हिन्दीका अनुसार महाराजगञ्जको गण्डक नदी क्षेत्रमा चार र कुशीनगरमा तीनवटा शव भेटिएका हुन्। प्रारम्भिक विवरणअनुसार मृतकमध्ये पाँच महिला र दुई पुरुष छन्।नदीमा नियमित निगरानी गरिरहेका भारतीय सुरक्षा तथा उद्धार टोलीले शव देखेपछि मोटरबोट प्रयोग गरेर बाहिर निकालेका थिए। त्यसपछि शवलाई सम्बन्धित जिल्ला प्रशासनको जिम्मा लगाइएको छ।भारतीय अधिकारीहरूले ती शव नेपालमा आएको बाढीका क्रममा नदीमा बगेका व्यक्तिहरूको हुनसक्ने अनुमान गरेका छन्। यद्यपि, शवको पहिचान पुष्टि भइसकेको छैन।महाराजगञ्ज प्रशासनका अनुसार गण्डक नदीबाट भेटिएका चार शवमध्ये तीन महिला र एक पुरुष छन्। शवको पहिचानका लागि नेपाली प्रशासनसँग समेत समन्वय भइरहेको जनाइएको छ।कुशीनगरमा फेला परेका तीन शवमध्ये दुई महिला र एक पुरुष रहेको स्थानीय अधिकारीहरूले बताएका छन्। शवलाई सुरक्षित राखेर पहिचान तथा सम्भावित आफन्तको खोजी अघि बढाइएको छ।नेपालतर्फको बाढीपछि नदीको बहाव भारततर्फ समेत बढेकाले भारतीय सुरक्षा निकायले नदी आसपासको क्षेत्रमा निगरानी थप कडा बनाएका छन्।