काठमाडौं । चिनियाँ प्रधानमन्त्री ली छ्याङले रसुवागढी आसपासको बाढी प्रभावित क्षेत्रको निरीक्षण गर्ने भएका छन्।
उद्धार तथा राहत कार्यको अवस्था बुझ्न उनी तिब्बत पुगेको नेपालस्थित चिनियाँ दूतावासले जनाएको छ।ल्हेन्दे खोलामा आएको लेदोसहितको बाढीका कारण चीनतर्फ पनि ठूलो क्षति भएको बताइएको छ। घटनामा तीन जनाको मृत्यु भएको र ५ सय ५८ जना सम्पर्कविहीन रहेको चिनियाँ पक्षले जनाएको छ। सम्पर्कविहीनमध्ये २ सय ६० जना विदेशी नागरिक रहेको विवरण सार्वजनिक गरिएको छ।बाढीपछि नेपाल–चीन सीमा क्षेत्रमा रहेका चिनियाँ नागरिकको अवस्थाबारे पनि चासो बढेको छ। चिनियाँ विदेश मन्त्रालयका अनुसार नेपालतर्फ रहेका करिब एक सय चिनियाँ नागरिकसमेत सम्पर्कविहीन भएको जानकारी प्राप्त भएको छ।चिनियाँ विदेश मन्त्रालयका प्रवक्ता लिन जिएनले नियमित पत्रकार सम्मेलनमा बाढीपछि बेपत्ता चिनियाँ नागरिकको अवस्थाबारे नेपाली पक्षसँग समन्वय भइरहेको बताएका छन्।सीमा क्षेत्रमा आएको प्राकृतिक विपद्पछि दुवै देशले प्रभावित नागरिकको खोज तथा उद्धारलाई प्राथमिकता दिएका छन्। चिनियाँ प्रधानमन्त्रीको प्रस्तावित भ्रमणले प्रभावित क्षेत्रमा भइरहेको राहत तथा उद्धारको अवस्थाबारे प्रत्यक्ष जानकारी लिन सहयोग पुग्ने अपेक्षा गरिएको छ।