काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित नागरिकको खोज तथा उद्धार, तत्काल राहत र दीर्घकालीन पुनःस्थापनाका लागि ग्लोबल आइएमई बैंक लिमिटेडले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा ५ करोड रुपैयाँ सहयोग गर्ने घोषणा गरेको छ।
बाढीका कारण रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनसहित नदी तटीय क्षेत्रमा ठूलो मानवीय तथा भौतिक क्षति भएपछि बैंकले सहयोगको घोषणा गरेको हो।केही नागरिकको ज्यान गएको, ठूलो संख्यामा मानिस सम्पर्कविहीन रहेको र सयौँ परिवार प्रभावित तथा विस्थापित भएको बैंकले जनाएको छ। बाढीले घरबस्ती, सडक, पुल तथा जलविद्युत् आयोजनामा समेत क्षति पुर्याएको बताइएको छ।बैंकका अनुसार सहयोग रकम प्रभावित क्षेत्रमा बेपत्ताको खोजी तथा उद्धार, घाइतेको उपचार, खाद्यान्न वितरण, अस्थायी बसोबास तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माण लगायतका काममा उपयोग गर्ने उद्देश्य राखिएको छ।ग्लोबल आइएमई बैंकले विपद्को समयमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत सहयोग गर्दै आएको जनाएको छ। बैंकका अनुसार यसअघि पनि बाढी, पहिरो, डुबान, भूकम्प तथा महामारीजस्ता प्राकृतिक तथा मानवीय संकटका बेला आर्थिक, भौतिक र मानवीय सहायता उपलब्ध गराउँदै आएको छ।बैंकले आफूलाई ७७ वटै जिल्लामा शाखा सञ्जाल विस्तार गर्ने निजी क्षेत्रको पहिलो वाणिज्य बैंकका रूपमा प्रस्तुत गरेको छ। हाल बैंकका देशभर ३ सय ४१ शाखा, ३ सय ६८ एटीएम, १ सय ४७ शाखारहित बैंकिङ सेवा, ६९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर र तीनवटा वैदेशिक प्रतिनिधि कार्यालय रहेको जनाएको छ।त्यसैगरी, बैंकले अमेरिका, बेलायत, अस्ट्रेलिया, मलेसिया, दक्षिण कोरिया, जापान, साउदी अरब, कतार, यूएई र भारतलगायत विभिन्न मुलुकबाट औपचारिक माध्यममार्फत विप्रेषण भित्र्याउँदै आएको जनाएको छ।