काठमाडौं । भोटेकोशी नदीमा आएको बाढीपछि सम्पर्कविहीन भएका आफन्तको खोजीमा परिवार तथा आफन्तजन काठमाडौंको महाराजगन्जस्थित टिचिङ अस्पताल पुग्न थालेका छन्।
हराएका व्यक्तिबारे जानकारी संकलन गर्न प्रहरी वृत्त महाराजगन्जको समन्वयमा अस्पताल परिसरमा सहायता कक्ष सञ्चालन गरिएको छ। उक्त कक्षमार्फत सम्पर्कविहीन व्यक्तिका आफन्तबाट आवश्यक विवरण लिने काम भइरहेको प्रहरीले जनाएको छ।सहायता कक्षमा आफन्तजनले हराएका व्यक्तिको नाम, पहिचान तथा उपलब्ध अन्य विवरण टिपाइरहेका छन्। संकलित विवरणका आधारमा सम्पर्कविहीन व्यक्तिहरूको नामावली तयार पार्ने र आवश्यक जानकारी सार्वजनिक गर्ने कामसमेत भइरहेको छ।बाढीपछि विभिन्न स्थानमा ठूलो संख्यामा मानिस सम्पर्कविहीन भएपछि उनीहरूको अवस्था पत्ता लगाउन सुरक्षा निकायले खोजी तथा उद्धार अभियान सञ्चालन गरिरहेको छ। आफन्तजनलाई हराएका व्यक्तिबारे उपलब्ध जानकारी प्रहरी सहायता कक्षमा दर्ता गराउन आग्रह गरिएको छ।प्रहरीको सहायता कक्षले खोजी तथा उद्धारमा संलग्न सम्बन्धित निकायसँग समन्वय गर्दै सम्पर्कविहीन व्यक्तिको अवस्थाबारे जानकारी संकलन गर्ने प्रयास गरिरहेको छ।