काठमाडौं। सरकारले बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङलाई विपद् संकटग्रस्त क्षेत्र घोषणा गरेको छ।
सरकारले तीनवटै जिल्लालाई तीन महिनासम्मका लागि संकटग्रस्त क्षेत्रका रूपमा तोकेको हो।बाढीबाट भएको क्षति र प्रभावित क्षेत्रमा तत्काल उद्धार, राहत तथा पुनःस्थापनाका कामलाई प्रभावकारी बनाउन मन्त्रिपरिषद्को आकस्मिक बैठकले यस्तो निर्णय गरेको एक मन्त्रीले जानकारी दिए।बैठकले संकटग्रस्त घोषित जिल्लामा आवश्यक कामलाई तीव्रता दिन सम्बन्धित निकायलाई परिचालन गर्ने निर्णयसमेत गरेको छ। प्रभावित क्षेत्रमा आवश्यक पर्ने सेवा, स्रोतसाधन तथा व्यवस्थापनका विषयमा सरकारले प्राथमिकताका साथ काम अघि बढाउने जनाएको छ।त्यस्तै, मन्त्रिपरिषद्ले सबै मन्त्रीलाई आ–आफ्नो मन्त्रालयसँग सम्बन्धित आवश्यकताबारे स्थलगत रूपमा जानकारी लिन र आवश्यक कामको समन्वय गर्न फिल्डमै खटिन निर्देशन दिएको छ।सरकारले बाढी प्रभावित क्षेत्रको अवस्था मूल्यांकन गर्दै खोज, उद्धार, राहत र आवश्यक पूर्वाधार व्यवस्थापनलाई प्राथमिकतामा राखेको जनाएको छ।