काठमाडौं। तिब्बततर्फबाट आएको बाढीले रसुवाको टिमुरे क्षेत्रमा ठूलो क्षति पुर्याएको छ।
भोटेकोशी नदीमा आएको बाढीले टिमुरे बस्तीमै व्यापक क्षति पुर्याएको स्थानीयले बताएका छन्।गोसाइँकुण्ड गाउँपालिकाका कार्यपालिका सदस्य पेमा दोर्जे घलेका अनुसार बाढीले टिमुरेको ठूलो हिस्सा बगाएको छ। उनका अनुसार बस्तीमा रहेका घरहरूमा व्यापक क्षति पुगेको छ भने कति मानिस सम्पर्कविहीन वा बेपत्ता छन् भन्ने यकिन हुन सकेको छैन।घलेका अनुसार बाढीबाट जोगिएका करिब डेढ सय मानिस उकालो क्षेत्रमा पुगेका छन्। तर उनीहरू पनि तत्काल सुरक्षित स्थानमा सार्नुपर्ने अवस्था रहेको उनले बताएका छन्।
टिमुरेमा एक सयभन्दा बढी घर रहेको बताउँदै उनले बाढीपछि बस्तीको अवस्था निकै भयावह बनेको जानकारी दिए। उद्धार तथा खोजी कार्य तत्काल तीव्र बनाउनुपर्ने उनको भनाइ छ।स्थानीयका अनुसार टिमुरे क्षेत्रमा खटिएका नेपाल प्रहरी र सशस्त्र प्रहरीका केही सुरक्षाकर्मी मात्र सम्पर्कमा देखिएका छन्। यसैबीच उद्धार तथा खोजीका लागि नेपाली सेनाको हेलिकप्टर टिमुरे पुगेको छ।बाढीबाट भएको मानवीय तथा भौतिक क्षतिको पूर्ण विवरण भने उद्धार तथा खोजी कार्य अघि बढेपछि मात्र स्पष्ट हुने बताइएको छ।