काठमाडौँ । जापानमा अध्ययनरत नेपाली विद्यार्थी मनिष गुरुङ केही समयदेखि परिवार तथा आफन्तको सम्पर्कविहीन भएका छन्।
गोरखाको अजिरकोट गाउँपालिका–९ स्थायी घर भएका २३ वर्षीय गुरुङ सन् २०२३ मा जापान पुगेका थिए। उनी टोकियो इन्टरनेसनल बिजनेस कलेजमा अध्ययनरत रहेको बताइएको छ। परिवारका अनुसार गुरुङसँग २०२६ मे २८ गतेदेखि सम्पर्क हुन सकेको छैन। लामो समयसम्म सम्पर्कविहीन भएपछि उनको खोजीका लागि परिवार र नेपाली समुदायले सहयोगको आग्रह गरेका छन्।
गैरआवासीय नेपाली संघ (एनआरएनए) जापानले गुरुङसँग अध्ययन, काम वा व्यक्तिगत रूपमा सम्पर्कमा रहेका व्यक्तिहरूलाई कुनै जानकारी भए उपलब्ध गराउन अनुरोध गरेको छ। गुरुङको गोरो वर्ण रहेको बताइएको छ। उनलाई कतै देखेको वा उनको अवस्था तथा बसोबासबारे जानकारी पाएको भए एनआरएनए जापानको ०८०–६३५२–८२८६ नम्बरमा सम्पर्क गर्न आग्रह गरिएको छ। उक्त नम्बरमा फोन तथा ह्वाट्सएपमार्फत जानकारी दिन सकिनेछ। एनआरएनए जापानले गुरुङको खोजीमा सहयोग पुग्ने भएकाले उक्त सूचना सकेसम्म धेरै नेपाली समुदायसम्म पुर्याइदिन समेत अनुरोध गरेको छ।