काठमाडौं । ताप्लेजुङको सदरमुकाम फुङ्लिङ बजारमा बिहीबार अलैँची प्रतिमन ४० किलोग्राम ९६ हजार रुपैयाँमा कारोबार भइरहेको छ ।
पछिल्ला दुई वर्षदेखि अलैँचीको मूल्य तुलनात्मक रूपमा राम्रो रहँदै आएपछि किसानहरूमा उत्साह बढेको स्थानीय किसानहरूले बताएका छन् ।अलैँची टिप्ने मुख्य मौसम सुरु भएसँगै जिल्लाका विभिन्न क्षेत्रमा किसानहरू बगानमा व्यस्त भएका छन् । फुङ्लिङ नगरपालिका–९ का किसान सुवास भण्डारीका अनुसार बेँसी क्षेत्रमा अलैँची टिपाइ सुरु भइसकेको छ ।ताप्लेजुङमा सामान्यतः साउनको तेस्रो सातादेखि मंसिरसम्म अलैँची टिप्ने गरिन्छ । बेँसी क्षेत्रबाट सुरु हुने टिपाइ क्रमशः लेकाली क्षेत्रमा सर्दै जाने गर्दछ । मैवाखोला गाउँपालिका, फुङ्लिङ नगरपालिका–हाङदेवा तथा आठराई त्रिवेणी गाउँपालिका–चाँगेलगायतका बेँसी क्षेत्रमा किसानले अलैँची टिप्न थालेका छन् ।
अलैँची टिपेपछि बगानमै बनाइएका भट्टीमा सुकाउने गरिन्छ । जिल्लाका किसानका लागि अलैँची प्रमुख नगदेबालीका रूपमा रहेको छ । अन्तर्राष्ट्रिय बजारको माग र मूल्यका आधारमा नेपाली बजारमा समेत यसको मूल्य निर्धारण हुने भएकाले समयअनुसार मूल्यमा उतारचढाव हुने व्यवसायीहरू बताउँछन् ।ताप्लेजुङका नौ स्थानीय तहमध्ये फक्ताङलुङ गाउँपालिका–७ ओलाङचुङगोलाबाहेक जिल्लाका अधिकांश वडामा व्यावसायिक रूपमा अलैँची खेती हुँदै आएको छ । हाल जिल्लामा करिब ४ हजार ४ सय ५० हेक्टर क्षेत्रफलमा अलैँची खेती भइरहेको तथ्यांक छ ।कोशी प्रदेशमा भने ७ हजार ५ सय हेक्टरभन्दा बढी क्षेत्रफलमा अलैँची खेती हुँदै आएको छ । नेपालमा उत्पादन हुने अलैँचीको करिब ९० प्रतिशत निर्यात हुने गरेको छ । नेपाली अलैँची मुख्यतः भारत हुँदै विश्व बजारमा पुग्ने गरेको छ ।यस वर्ष मूल्य राम्रो रहेकाले उत्पादनसँगै किसानको आम्दानी पनि बढ्ने अपेक्षा गरिएको छ ।