काठमाडौं । ताप्लेजुङस्थित प्रसिद्ध धार्मिकस्थल पाथीभरा मन्दिरमा पछिल्लो एक वर्षमा कुल ४ करोड ८२ लाख ३ हजार ८ सय ५५ रुपैयाँ भेटी संकलन भएको छ।
पाथीभरा क्षेत्र विकास समितिका अनुसार गत साउनदेखि असारसम्मको अवधिमा मन्दिरमा कुल ४ करोड ८२ लाख ३ हजार ८ सय ५५ रुपैयाँ भेटी संकलन भएको हो।समितिले सार्वजनिक गरेको विवरणअनुसार साउनमा १० लाख ३९ हजार, भदौमा ९ लाख ९७ हजार, असोजमा ३३ लाख ८२ हजार र कात्तिकमा ३४ लाख ४८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ।त्यस्तै मंसिरमा ७५ लाख ४९ हजार १ सय रुपैयाँ, पुसमा २४ लाख २५ हजार, माघमा १८ लाख ४७ हजार ५ सय रुपैयाँ र फागुनमा ३१ लाख १० हजार रुपैयाँ संकलन भएको समितिले जनाएको छ।
चैतमा ५८ लाख ४४ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको थियो। वैशाखमा भने सबैभन्दा धेरै १ करोड ६ लाख २८ हजार रुपैयाँ भेटी संकलन भएको पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक प्रजिन हाङबाङले जानकारी दिए।उनका अनुसार एकै महिनामा एक करोड रुपैयाँभन्दा बढी भेटी संकलन भएको यो सम्भवतः पहिलो पटक हो।जेठमा ४६ लाख ६० हजार ६ सय रुपैयाँ र असारमा ३२ लाख ७२ हजार ६ सय ५५ रुपैयाँ भेटी संकलन भएको छ।समितिका अनुसार सोही एक वर्षको अवधिमा २५ लाख २ हजार ७८ जना दर्शनार्थी पाथीभरा मन्दिर पुगेका छन्।यसैबीच चालु आर्थिक वर्षको साउन महिनामा मात्रै पाथीभरामा ३ लाख १८ हजार ५ सय रुपैयाँ भेटी संकलन भएको छ। उक्त अवधिमा २ हजार ४ सय ६९ जना भक्तजनले पाथीभरा पुगेर पूजापाठ गरेको समितिले जनाएको छ।