काठमाडौं । नेपाली फिल्म ‘गौंथली’ ले बक्स अफिसमा आक्रामक कमाइको गतिलाई निरन्तरता दिँदै ऐतिहासिक रेकर्ड बनाउने क्रम जारी राखेको छ। आइतबार दिउँसोसम्म यो फिल्मको कूल ग्रस कमाइ १९ करोड ४५ लाख रुपैयाँ (करिब १७ करोड नेट) पुगेको छ। मात्र २ करोड ७५ लाख रुपैयाँ लगानीमा बनेको यस फिल्मले लगानीभन्दा कैयौं गुणा बढी मुनाफा कमाइसकेको छ। सार्वजनिक बिदा परेका कारण फिल्मको कूल कमाइ छिट्टै २० करोड क्लब नजिक पुग्ने अनुमान गरिएको छ।
प्रदर्शनको छोटो अवधिमै फिल्मलाई ७ लाखभन्दा धेरै दर्शकले हलमा पुगेर हेरिसकेका छन्। पछिल्लो शनिबारसम्मको बक्स अफिस रिपोर्टअनुसार यस फिल्मले चर्चित चलचित्रहरू ‘जारी’, ‘छक्कापञ्जा ४’ र ‘परान’ को कमाइलाई पछाडि पारिसकेको छ। अब यो फिल्मले ‘१२ गाउँ’ (१९ करोड ९२ लाख ग्रस) को कलेक्सनलाई समेत उछिनेको छ भने नेपाली चलचित्र इतिहासमा सर्वाधिक कमाउने सूचीमा ‘कबड्डी ४’ र ‘पूर्णबहादुरको सारंगी’ मात्र यसभन्दा अगाडि रहेका छन्।
नेपालमा मात्र नभई विदेशका विभिन्न देशहरूमा समेत फिल्मले उत्कृष्ट प्रदर्शन गरिरहेको निर्माता सुमन गिरीले बताएका छन्। उनका अनुसार फिल्मले अमेरिकामा २ लाख अमेरिकी डलर, अस्ट्रेलियामा १ लाख अस्ट्रेलियन डलर, दुबईमा ५० हजार दिराम तथा डेनमार्क र माल्टा लगायतका देशमा २० हजार युरोभन्दा बढीको कमाइ गरिसकेको छ। साथै, आगामी सातादेखि क्यानडामा पनि यो फिल्म रिलिज हुने तयारीमा रहेको छ।