काठमाडौँ । अघि सार्वजनिक गरिएको ट्रेलरपछि नेपाली फिल्म (गौँथली) दर्शकमाझ चर्चा बटुल्न सफल भएको छ। आगामी साउन १ गते देखि देशभर प्रदर्शनमा आउन लागेको यो फिल्म करिब २५ वर्षअघि निर्माण भएको सोही नामको गीतिकथाबाट प्रेरित भएर तयार गरिएको हो।
फिल्मले सानै उमेरमा विवाह गर्न बाध्य पारिएकी एक बालिकाको शिक्षा प्राप्त गर्ने सपना र त्यसका लागि उसले भोग्नुपरेको संघर्षलाई केन्द्रमा राखेको छ। कथाकार तथा वरिष्ठ चिकित्सक भोला रिजालले कथा लेखेका हुन् भने उनका छोरा कपिल रिजालले निर्देशन र निर्माणको जिम्मेवारी सम्हालेका छन् बेलायतमा दन्त चिकित्सकका रूपमा कार्यरत निर्देशक रिजालले यसअघि ह्यारीकी प्यारीनिर्देशन गरिसकेका छन्। उनका फिल्महरूमा सामाजिक विषयसँगै स्वास्थ्यसम्बन्धी सन्देशलाई पनि प्राथमिकता दिइने गरेको छ। ‘ह्यारीकी प्यारी’मा स्पर्म डोनेसनको विषय समेटेका उनले यसपटक ‘गौँथली’मार्फत अटिजम भएका व्यक्तिको जीवन, व्यवहार र समाजको दृष्टिकोणलाई प्रस्तुत गरेका छन्। निर्देशक रिजालका अनुसार चिकित्सक भएकाले स्वास्थ्यसँग सम्बन्धित विषयहरूमा उनको विशेष रुचि रहेको र त्यही अनुभवलाई फिल्ममार्फत दर्शकमाझ पुर्याउने प्रयास गरिएको हो।
उनका अनुसार यस्ता कथाले मनोरञ्जनसँगै जनचेतना फैलाउने काम पनि गर्छन्। फिल्ममा अरुण क्षेत्री अटिजम भएका युवकको भूमिकामा देखिएका छन् भने सिम्रन खड्का एसईई उत्तीर्ण गर्ने सपना बोकेकी बालिकाको भूमिकामा प्रस्तुत भएकी छन्। कम उमेरमै विवाह गर्नुपरेकी युवती र फरक व्यवहार भएका युवकबीचको सम्बन्ध तथा शिक्षाले उनीहरूको जीवनमा ल्याउने परिवर्तनलाई भावनात्मक ढंगले चित्रण गरिएको छ। ट्रेलर सार्वजनिक भएपछि ग्रामीण परिवेश, संवेदनशील कथा र पात्रहरूको जीवन संघर्षलाई दर्शकले सकारात्मक प्रतिक्रिया दिएका छन्। सामाजिक यथार्थलाई सरल शैलीमा प्रस्तुत गर्ने प्रयासले फिल्मप्रति चासो बढाएको देखिन्छ। फिल्ममा मदनकृष्ण श्रेष्ठ,प्रकाश घिमिरे,लुनिभा तुलाधर,रवीन्द्र झा,ईश्वरी बराल,सन्जोग रसाइली,सीतादेवी तिमिल्सिना र लक्ष्मीनाथ तिमिल्सिना लगायत कलाकारको अभिनय रहेको छ।
संवाद निश्चल कुँवर,नीरज नेपाल र गिरिराज घिमिरेले संयुक्त रूपमा तयार गरेका छन्। सरला रिजाल कार्यकारी निर्माता रहेको फिल्मका निर्माता सुमन गिरी र कपिल रिजालहुन्। शम्भुजीत बासकोटा,थानेश्वर गौतम र प्रशान्त सिवाकोटीको संगीत रहेको फिल्ममा पाश्र्व संगीत एलिस कार्कीले दिएका छन्। छायांकन हरि हुमागाईं र सम्पादन मिलन श्रेष्ठले गरेका छन्। ‘गौँथली’ लाई रीच इन्टरटेनमेन्टले देशव्यापी रूपमा वितरण गर्दैछ।