काठमाडौँ । नमोबुद्ध नगरपालिकाको आयोजनामा सामाजिक विषयवस्तुमा आधारित सचेतनामूलक सडकनाटक ‘सहीछाप’ प्रदर्शन गरिएको छ।
नगरभित्रका विद्यालय उमेरका बालबालिका, युवा तथा स्थानीय समुदायलाई सामाजिक विकृतिविरुद्ध सचेत बनाउने उद्देश्यले बिहीबार (असार ११) नमोबुद्ध नगरपालिका–४, भकुण्डेबेसीस्थित जनक माध्यमिक विद्यालयको प्राङ्गणमा नाटक प्रदर्शन गरिएको हो। नाटकमा बालविवाह, लागुऔषध दुव्र्यसन, साइबर अपराध तथा अन्य समसामयिक सामाजिक समस्यालाई मुख्य विषयवस्तु बनाइएको थियो।
सूचना, मनोरञ्जन र चेतनालाई एकैसाथ प्रस्तुत गरिएको यस नाटकले समाजमा सकारात्मक परिवर्तन ल्याउन मद्दत गर्ने विश्वास लिइएको छ। नाटक हेरेपछि जनक बहुमुखी क्याम्पसका क्याम्पस प्रमुख हरिहर अधिकारीले यसलाई समयसापेक्ष र प्रभावकारी बताए। उनले भने, नाटक ‘सहीछाप’ अत्यन्तै जनचेतनामूलक छ। यसले बालविवाह र सामाजिक समस्यालाई उत्कृष्ट रूपमा प्रस्तुत गरेको छ। अभिभावक, विद्यार्थी र शिक्षक सबैले हेर्नुपर्ने नाटक हो।
नमोबुद्ध नगरपालिकाको महिला, बालबालिका तथा समाज कल्याण शाखा प्रमुख तारादेवी सुनुवारले नाटक प्रदर्शनको उद्देश्यबारे जानकारी दिँदै समाजमा बढ्दो बालविवाह र सामाजिक सञ्जालको दुरुपयोगबारे सचेतना फैलाउन कार्यक्रम गरिएको बताइन्। आदिइत्यादि’ को प्रस्तुति रहेको नाटकलाई निर्देशक पुरु लम्सालले लेखन तथा निर्देशन गरेका हुन्। नाटकमा वरिष्ठ कलाकार प्रभाकरदेव शर्मा, कमलमणि नेपाल, अनामिका लामिछाने, सागर कार्की, सेविता अधिकारी, रूपेश मण्डल र अञ्जु खड्का लगायतले अभिनय गरेका छन्।