काठमाडौँ। मधेस प्रदेशमा लागुऔषध दुर्व्यसनले गम्भीर सामाजिक चुनौतीको रूप लिन थालेको छ। सीमावर्ती क्षेत्रमा लागू पदार्थको सहज पहुँच, बेरोजगारी, सामाजिक दबाब र कमजोर रोकथाम संयन्त्रका कारण किशोर तथा युवावर्ग ठूलो संख्यामा कुलततर्फ आकर्षित भइरहेको तथ्य विभिन्न अध्ययन र सरकारी तथ्यांकले देखाएका छन्।
बारादेखि पर्सा, महोत्तरी हुँदै सिराहासम्मका जिल्लामा लागुऔषध प्रयोगकर्ताको संख्या बढ्दै जाँदा त्यसको प्रभाव परिवार, समाज र सुरक्षा क्षेत्रमा समेत देखिन थालेको छ। स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाहरूका अनुसार विद्यालय तथा कलेज उमेरका युवामा गाँजा, ट्याब्लेट, ब्राउन सुगर लगायतका पदार्थको प्रयोग बढ्दो क्रममा छ। प्रहरी अधिकारीहरूका अनुसार दुर्व्यसनको असर केवल स्वास्थ्यमा सीमित छैन, यसले चोरी, लुटपाट, हिंसा तथा अन्य आपराधिक गतिविधि पनि बढाएको छ।
मधेस प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) सुदीप राज पाठक लागुऔषध समस्यालाई केवल कानुनी विषयका रूपमा मात्र हेर्न नहुने बताउँछन्। उनका अनुसार प्रयोगकर्ताको संख्या बढिरहेसम्म आपूर्ति नियन्त्रणका प्रयासले मात्रै अपेक्षित परिणाम दिन सक्दैन। ‘प्रहरीले कारोबार र ओसारपसार नियन्त्रणमा निरन्तर काम गरिरहेको छ। तर समस्या समाधानका लागि प्रयोगकर्ताको संख्या घटाउनु अझ महत्वपूर्ण पक्ष हो,’ एसएसपी पाठक भन्छन्, ‘लागुऔषध दुर्व्यसनलाई जनस्वास्थ्य र सामाजिक समस्याका रूपमा बुझेर बहुआयामिक ढंगले काम गर्नुपर्छ।’ उनका अनुसार मधेस प्रदेश भारतसँग खुला सीमाले जोडिएकाले लागू पदार्थको अवैध आयात र तस्करी नियन्त्रण चुनौतीपूर्ण बनेको छ। सीमापारबाट भित्रिने औषधिजन्य लागू पदार्थ र नेपालबाट बाहिरिने गाँजा तथा अफिम दुवै प्रहरीका लागि चिन्ताको विषय बनेका छन्।
तीन वर्षमा २७ सयभन्दा बढी पक्राउ: मधेस प्रदेश प्रहरी कार्यालयको तथ्यांकअनुसार पछिल्ला तीन आर्थिक वर्षमा लागुऔषध सम्बन्धी १ हजार ९२६ मुद्दा दर्ता भएका छन्। यस अवधिमा २ हजार ७०१ जना पक्राउ परेका छन्। प्रहरीले यही अवधिमा ठूलो परिमाणमा गाँजा, चरेस, ब्राउन सुगर, हिरोइन र अफिम बरामद गरेको छ। पक्राउ पर्नेहरूमध्ये अधिकांश स्वयं प्रयोगकर्ता वा साना भरिया रहेको प्रहरीको विश्लेषण छ। एसएसपी पाठकका अनुसार लागुऔषध कारोबारको सञ्जाल तोड्न प्रहरी सक्रिय रहे पनि आपूर्ति शृंखलाको माथिल्लो तहसम्म पुग्न अझै चुनौती कायमै छ।
किशोर–युवा बढी जोखिममा: विभिन्न अध्ययनहरूले मधेस प्रदेशमा कम उमेरमै लागुऔषध प्रयोग सुरु गर्नेको संख्या उल्लेखनीय रहेको देखाएका छन्। धेरैजसो प्रयोगकर्ताले चुरोटबाट सुरुवात गरेर गाँजा, चरेस, ट्याब्लेट हुँदै ब्राउन सुगर र इन्जेक्सनमार्फत लागुऔषध प्रयोग गर्ने तहसम्म पुग्ने गरेका छन्। सामाजिक अभियन्ताहरूका अनुसार परिवारसँगको दूरी, बेरोजगारी, साथीहरूको प्रभाव र भविष्यप्रतिको निराशाले युवालाई दुर्व्यसनतर्फ धकेलिरहेको छ।
समाधान प्रहरी कारबाही मात्रै होइन: मानसिक स्वास्थ्य तथा सामाजिक क्षेत्रका विज्ञहरू लागुऔषध दुर्व्यसनलाई अपराधभन्दा बढी स्वास्थ्य र सामाजिक संकटका रूपमा हेर्नुपर्ने बताउँछन्। उनीहरूका अनुसार उपचार, परामर्श, पुनःस्थापना र सामाजिक पुनःएकीकरणका कार्यक्रम प्रभावकारी नबनाई समस्या समाधान सम्भव छैन। एसएसपी पाठक पनि यही धारणा राख्छन्। उनका अनुसार संघ, प्रदेश र स्थानीय सरकारबीच समन्वय गर्दै रोकथाम, उपचार र पुनःस्थापनालाई सँगसँगै अगाडि बढाउन आवश्यक छ। ‘प्रयोगकर्तालाई केवल अपराधीका रूपमा होइन, सुधार र उपचार आवश्यक भएका व्यक्तिका रूपमा हेर्नुपर्छ,’ उनी भन्छन्, ‘समाज, परिवार, विद्यालय र राज्यका सबै निकाय मिलेर काम गरे मात्र मधेसमा फैलिँदै गएको यो संकट नियन्त्रण गर्न सकिन्छ।’