काठमाडौं ।कैलालीको गौरीगंगा नगरपालिकास्थित कालिका माध्यमिक विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य देवबहादुर बम दुई लाख रुपैयाँ घुससहित पक्राउ परेका छन्।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगका अनुसार बमले सेवाग्राहीलाई थप सेवा सुविधा तथा पारिश्रमिक मिलाइदिने भन्दै रकम मागेका थिए। सोही विषयमा उजुरी परेपछि अख्तियारको कञ्चनपुरस्थित कार्यालयबाट खटिएको टोलीले उनलाई धनगढी उपमहानगरपालिका–१ बाट घुस रकमसहित पक्राउ गरेको हो।अख्तियारका प्रवक्ता सुरेश न्यौपानेका अनुसार बमले सेवाग्राहीबाट दुई लाख रुपैयाँ लिइसकेको अवस्थामा रङ्गेहात पक्राउ गरिएको हो।पक्राउ परेका बमलाई शुक्रबार विशेष अदालतमा पेस गरिएको थियो। अदालतबाट भ्रष्टाचारसम्बन्धी कसुरमा थप अनुसन्धानका लागि म्याद लिएर उनीमाथि अनुसन्धान अघि बढाइएको अख्तियारले जनाएको छ।अख्तियारले घुस तथा भ्रष्टाचारजन्य गतिविधिविरुद्ध निगरानी र कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।