काठमाडौँ । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले देशको समग्र विकासका लागि शिक्षा क्षेत्रमा राज्यको लगानी अझै बढाउनुपर्ने आवश्यकता औँल्याएका छन्। शिक्षा तथा खेलकुद मन्त्रालयद्वारा आयोजित विद्यालय शिक्षा विधेयकको मस्यौदा तयारी गृहकार्यअन्तर्गत ‘विद्यालय व्यवस्थापन तथा पाठ्यक्रम व्यवस्था’ विषयक परामर्श–गोष्ठीमा बोल्दै मन्त्री पोखरेलले यस्तो बताएका हुन्।
कार्यक्रममा बोल्दै उनले शिक्षामा कुल राष्ट्रिय बजेटको कम्तीमा २० प्रतिशत लगानी गर्नुपर्ने विश्वव्यापी अभ्यास रहे पनि नेपालमा भने हाल ११ प्रतिशतभन्दा कम बजेट विनियोजन भइरहेको बताए। नेपालमा शिक्षा क्षेत्रमा हाल थप ५ अर्ब रुपैयाँ बजेट छुट्याइसकिएको र चालु आर्थिक वर्षमा कुल बजेटको आकार तथा शिक्षाको हिस्सा अझै बढ्नसक्ने उनको भनाइ छ।
मन्त्री पोखरेलले विद्यालय शिक्षा विधेयकको मस्यौदा तयार गर्दा विद्यार्थी, विद्यालय तथा विभिन्न तहका सरकारको सुझावलाई प्रमुख प्राथमिकतामा राखिने स्पष्ट पारे। परामर्शका क्रममा यसपटक विद्यार्थीको आवाज र विद्यालयको आवश्यकतालाई केन्द्रमा राखेर सुझावहरू प्राप्त भएको भन्दै उनले सहभागी सरोकारवालाहरूलाई धन्यवाद व्यक्त गरे।
यसैगरी, शिक्षासम्बन्धी अधिकार र जिम्मेवारीलाई स्पष्ट पार्दै सङ्घीय, प्रदेश र स्थानीय सरकारबिचको समन्वय र सहकार्यलाई थप प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए। विद्यालय व्यवस्थापन, पाठ्यक्रम परिमार्जन तथा समग्र शिक्षा नीति निर्माणमा प्राप्त सुझावहरूलाई समेटेर मात्रै विधेयकलाई अघि बढाउने मन्त्रालयको तयारी रहेको मन्त्री पोखरेलले जानकारी दिए।