काठमाडौं । नेपाली कांग्रेसकी सांसद रेनुका कौचाले सरकार वा राजनीतिक दलले आफूलाई मात्र सही ठानेर अरूले उठाएका प्रश्न, सुझाव र आलोचनालाई बेवास्ता गर्ने प्रवृत्ति गलत भएको बताएकी छन्।
आइतबार इक्यानले आयोजना गरेको एजुक्लेभ नेपालको ‘नीति निर्माण प्रक्रिया, प्रवृत्ति र परिणाम’ विषयक ‘द पोलिसी डायलग’ कार्यक्रममा बोल्दै कौचाले नयाँ वा पुरानो जुनसुकै राजनीतिक शक्ति भए पनि अरूका कुरा सुन्ने र आफ्ना कमजोरी सुधार्ने संस्कार विकास गर्नुपर्नेमा जोड दिइन्। उनले आफूहरूको गल्ती र कमजोरी औँल्याउँदा त्यसलाई स्वीकार गरेर सुधार गर्नुपर्ने बताइन्। राम्रा सुझावलाई समेत अस्वीकार गर्दै नियम र आपत्तिमात्र जनाउने प्रवृत्तिले समस्या समाधान गर्न नसकिने उनको भनाइ छ। ‘नयाँ होस् वा पुरानो, अरूको कुरा नसुन्नु एकदमै नराम्रो हो। हामीले गल्ती र कमजोरी औँल्याउँदा सुन्नुपर्छ। राम्रा कुरा भन्दा पनि नियम र आपत्तिमात्र गर्ने प्रवृत्ति राम्रो होइन,’ उनले भनिन्।
कौचाले प्रतिपक्षले उठाएका विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्ने बताइन्। प्रतिपक्षले उठाएका सबै विषय गलत छन् भन्ने मानसिकता राख्नुभन्दा त्यसबाट सरकारलाई आफ्ना कमजोरी पहिचान र सुधार गर्न सहयोग पुग्ने उनको धारणा छ। विगतका राजनीतिक दलहरूले पनि प्रतिपक्षका आवाज र सुझाव नसुनेकौ कारण अहिलेको अवस्थामा आइपुगेको उनले उल्लेख गरिन्। लोकतान्त्रिक व्यवस्थामा सरकार र प्रतिपक्षबीच निरन्तर संवाद, छलफल र सहकार्य आवश्यक रहेको कौचाले बताइन्। जनतासँग प्रत्यक्ष सरोकार राख्ने विषयमा प्रतिपक्षले उठाएका प्रश्नलाई बेवास्ता नगरी त्यसको उचित सम्बोधन गर्नुपर्ने उनको भनाइ छ। सरकारले आलोचनाबाट डराउनुको सट्टा त्यसलाई सुधारको अवसरका रूपमा लिनुपर्ने बताउँदै कौचाले सकारात्मक सुझाव र आलोचना सुन्ने राजनीतिक संस्कारको विकास गर्नुपर्नेमा जोड दिइन्।