काठमाडौं । जीतपुरसिमरा उपमहानगरपालिका–१ की तीन वर्षीया बालिका गरिमा चौधरीको बलात्कारपछि हत्या भएको घटनालाई लिएर स्थानीयबासी आन्दोलित भएका छन्।
घटनाको अनुसन्धान तथा बालिकाको खोजीमा प्रहरीले गम्भीर लापरबाही गरेको आरोप लगाउँदै स्थानीयले बिहीबार इलाका प्रहरी कार्यालय सिमरा घेराउ गरेका हुन्।प्रदर्शनकारीले बालिका हराएपछि समयमै प्रभावकारी खोजी नगरेको भन्दै प्रहरी प्रशासनप्रति आक्रोश व्यक्त गरेका छन्। उनीहरूले इलाका प्रहरी कार्यालय सिमराका इन्चार्ज प्रहरी नायब उपरीक्षक डीएसपी दिलीप क्षेत्रीलाई तत्काल कारबाही गर्नुपर्ने माग गरेका छन्।पीडित परिवारका अनुसार बालिका साउन ३१ गते बिहानदेखि हराएकी थिइन्। उनका बुबाले समयमै प्रहरी कार्यालयमा लिखित जाहेरी दिए पनि खोजी कार्यमा अपेक्षित सक्रियता नदेखाइएको स्थानीयको आरोप छ। समयमै प्रभावकारी खोजी भएको भए बालिकालाई जीवितै उद्धार गर्न सकिने उनीहरूको दाबी छ।
बालिकाको शव फेला परेपछि बुधबारदेखि सुरु भएको प्रदर्शन बिहीबार पनि जारी रह्यो। आन्दोलनरत स्थानीयले विभिन्न स्थानमा टायर बालेर सडक अवरुद्ध गरेका छन्।आन्दोलनका कारण सिमरा–डुमरवाना, पिलुवा–वडहर्वा, सिमरा–जीतपुर तथा पथलैया–सिमरा सडकखण्डमा यातायात प्रभावित भएको छ। वीरगञ्ज–पथलैया सडकखण्डसमेत अवरुद्ध हुँदा सार्वजनिक तथा निजी सवारीसाधन सञ्चालनमा कठिनाइ भएको छ।घटनाको विरोधमा जीतपुरसिमरा क्षेत्रका निजी तथा सामुदायिक विद्यालयसमेत बन्द गरिएका छन्। विभिन्न विद्यालयले शोकसभा आयोजना गर्दै बालिकामाथि भएको जघन्य अपराधको भर्त्सना गरेका छन्।शैक्षिक संस्थाहरूले घटनामा संलग्न दोषीलाई कडा कानुनी कारबाही गर्न तथा बालबालिकाको सुरक्षा सुनिश्चित गर्न सरकारसँग माग गरेका छन्।
बाराका प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र मिश्रका अनुसार घटनामा संलग्न रहेको आरोपमा दुई जना पक्राउ परिसकेका छन्। प्रहरीले तालिमप्राप्त कुकुरको समेत सहयोगमा अनुसन्धान अघि बढाएको जनाएको छ।प्रहरीको प्रारम्भिक भूमिकामाथि उठेका प्रश्नबारे समेत छानबिन भइरहेको प्रजिअ मिश्रले बताएका छन्। उनका अनुसार प्रहरीको लापरबाही पुष्टि भए जिम्मेवार अधिकारीमाथि विभागीय कारबाही गरिनेछ।तर, आरोपी पक्राउ परिसकेको जानकारी आए पनि स्थानीयको आक्रोश मत्थर भएको छैन। उनीहरूले घटनाको निष्पक्ष र गहिरो अनुसन्धान, दोषीलाई कडा कारबाही तथा बालबालिकाको सुरक्षाको ठोस व्यवस्था नभएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका छन्।सिमरा क्षेत्रमा सम्भावित तनावलाई ध्यानमा राख्दै ठूलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ।