काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रहवर अन्सारीले बाराको सिमरामा ३ वर्षीया बालिकाको बलात्कारपछि हत्या भएको घटनामा प्रहरीको गम्भीर लापरबाही भएको आरोप लगाएका छन्।
बुधबार प्रतिनिधिसभाको आकस्मिक समयमा बोल्दै सांसद अन्सारीले इलाका प्रहरी कार्यालय सिमराको निष्क्रियताका कारण घटना गम्भीर बनेको दाबी गरे। उनले बालिका हराएको जानकारी प्रहरीलाई गराएपछि पनि समयमै खोजी तथा अनुसन्धान अघि नबढाइएको भन्दै गृह मन्त्रालयको ध्यानाकर्षण गराए। अन्सारीले बालिका हराएको जानकारी प्राप्त भएको लामो समयसम्म पनि प्रहरीले प्रभावकारी रूपमा खोजी नगरेको आरोप लगाए। उनका अनुसार करिब ७२ घण्टापछि स्थानीयले शवबाट दुर्गन्ध आएको जानकारी गराएपछि मात्रै प्रहरी र तालिमप्राप्त कुकुर घटनास्थलमा पुगेका थिए।
उनले घटनाको प्रारम्भिक चरणमा प्रहरीले गरेका गतिविधिको विवरण सार्वजनिक गर्न माग गरे। बालिका हराएको जानकारी पाएपछि एक, दुई, छ र १२ घण्टामा प्रहरीले के–कस्ता कदम चाल्यो भन्ने स्पष्ट ‘एक्सन लग’ सार्वजनिक हुनुपर्ने उनको भनाइ थियो। ‘स्थानीय वा अन्य व्यक्तिले शव फेला पारेपछि मात्रै प्रहरी र कुकुर पुगेर अनुसन्धान गर्दैछौँ भन्नुको अर्थ हुँदैन,’ अन्सारीले भने, ‘प्रहरीले घटनाको हरेक चरणको अपडेट दिन सक्नुपर्छ।’ उनले घटनामा इलाका प्रहरी कार्यालय सिमराका सम्बन्धित अधिकारीको भूमिका छानबिन गरी दोषी देखिए कारबाही गर्न माग गरे। प्रारम्भिक चरणमै प्रहरी सक्रिय भएको भए घटनाको अवस्था फरक हुन सक्ने भन्दै उनले प्रहरीलाई जवाफदेही बनाउनुपर्ने बताए। सांसद अन्सारीले इलाका प्रहरी कार्यालय सिमरामा लापरबाही तथा अनियमित गतिविधि हुने गरेको आरोपसमेत लगाउँदै त्यसबारे गृह मन्त्रालयले गम्भीर छानबिन गर्नुपर्ने माग गरे। उनले सीमावर्ती क्षेत्रमा हुने आपराधिक तथा अवैध गतिविधि नियन्त्रणका लागि प्रहरी प्रशासनलाई थप जिम्मेवार बनाउन पनि सरकारको ध्यानाकर्षण गराए।