काठमाडौं ।सप्तरीको शम्भुनाथ नगरपालिका–३ मा दुई वर्षीया बालिका मृत अवस्थामा भेटिएको घटनामा प्रहरीले उनकी सौतेनी आमालाई पक्राउ गरेको छ।
मोहम्मद इरफानकी दुई वर्षीया छोरी खुशी खातुन आइतबार घरबाट हराएकी थिइन्। हराएको करिब दुई घण्टापछि उनको शव घर पछाडिको झाडीमा फेला परेको प्रहरीले जनाएको छ। शव पोस्टमार्टमका लागि राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पताल पठाइएको छ।घटनामा संलग्न आरोपमा १९ वर्षीया मुस्कान खातुनलाई पक्राउ गरिएको सप्तरीका प्रहरी प्रमुख एसपी रूपक खड्काले बताएका छन्। मुस्कान मृतक बालिकाकी कान्छी आमा हुन्।प्रहरीको प्रारम्भिक अनुसन्धानले बालिकाको हत्यामा मुस्कानको संलग्नता देखिएको एसपी खड्काले बताएका छन्। उनका अनुसार बालिकाको शरीरमा बाहिरी चोटपटक देखिएको छैन र घटनामा एक जनाको मात्र संलग्नता रहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।प्रहरीका अनुसार मृतकका बुवा मोहम्मद इरफान वैदेशिक रोजगारीका क्रममा कतारमा छन्। पुर्ख्यौली घरमा उनकी जेठी पत्नी र बालिका बस्दै आएका थिए भने कान्छी पत्नी मुस्कान नजिकै डेरा लिएर बस्दै आएकी थिइन्।
स्थानीयका अनुसार शनिबार दुई पत्नीबीच विवाद भएको थियो। सौता लाग्ने विषयसँगै सम्पत्तिको हकदार को हुने भन्ने विषयमा समेत उनीहरूबीच विवाद भएको बताइएको छ। यही विवादपछि बालिकाको हत्या भएको हुनसक्ने आशंकामा प्रहरीले अनुसन्धान अघि बढाएको छ।बालिका हराएको खबर पाएलगत्तै प्रहरीले खोजी सुरु गरेको थियो। घटनाको विरोधमा स्थानीयले आइतबार केही समय रुपनी बजार बन्दसमेत गराएका थिए। अहिले बजार र राजमार्गको अवरोध हटिसकेको प्रहरीले जनाएको छ।यसअघि बाराको सिमरामा तीन वर्षीया गरिमा चौधरी मृत अवस्थामा भेटिएकी थिइन्। साउन ३१ गतेदेखि हराएकी गरिमाको बलात्कारपछि हत्या भएको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ।घटनामा संलग्न आरोपमा जितपुर सिमरा उपमहानगरपालिका–२ का १६ वर्षीय सुमन थापा र सिमरा–१ का २४ वर्षीय प्रोग्रेस चौधरी पक्राउ परेका छन्।प्रहरीका अनुसार सुमनले चकलेट दिएर बालिकालाई फकाउँदै घटनास्थलमा लगेको र त्यहाँ बलात्कारपछि हत्या गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। पक्राउ परेका अर्का व्यक्ति म्याजिकका धनी रहेको प्रहरीले जनाएको छ।बालिका हराएपछि पनि प्रहरीले खोजी तथा अनुसन्धानमा बेवास्ता गरेको आरोप लगाउँदै स्थानीयले विरोध प्रदर्शन गरेका थिए। त्यसपछि सिमरामा कार्यरत डीएसपी दिलीप क्षेत्रीलाई हटाएर प्रहरी प्रधान कार्यालयले डीएसपी दयाकृष्ण भट्टलाई पठाएको थियो।गरिमा चौधरीको परिवार र सरकारबीच भएको सहमतिअनुसार सिमरामा गरिमाको सालिक बनाउन पहल गर्ने तथा नागरिकको अपेक्षाअनुसार कानुन संशोधनका लागि सुझावसहित प्रतिवेदन दिन ‘गरिमा न्याय सङ्कल्प समिति’ गठन गर्ने सहमति भएको छ।