काठमाडौँ । वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठको जीवनकथामा आधारित बायोपिक चलचित्र ‘मदनकृष्ण’ निर्माण हुने भएको छ। चलचित्रको औपचारिक घोषणा कार्यक्रममा चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, वरिष्ठ कलाकार मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्य सहभागी भएका थिए।
कार्यक्रममा बोल्दै अध्यक्ष दिनेश डिसीले मदनकृष्ण र हरिवंश नेपाली कला क्षेत्रका अत्यन्त सम्मानित व्यक्तित्व रहेको उल्लेख गर्दै बायोपिक निर्माण आफैंमा चुनौतीपूर्ण काम भएको बताए। उनले निर्देशक मिलन चाम्सको नेतृत्वमा बन्ने यो चलचित्र नेपाली चलचित्र उद्योगका लागि महत्वपूर्ण उपलब्धि सावित हुने विश्वास व्यक्त गरे। मदनकृष्ण श्रेष्ठले आफ्नो जीवनमा आधारित चलचित्र बन्न लागेकोमा खुसी व्यक्त गर्दै आफ्नो सफल यात्रामा हरिवंश आचार्यको महत्वपूर्ण योगदान रहेको बताए। उनले यो चलचित्र आफ्नो मात्र नभई आफू र हरिवंशको साझा यात्राको कथा पनि भएको उल्लेख गरे। त्यस्तै, हरिवंश आचार्यले मदनकृष्णको जीवनकथा पर्दामा उतारिने विषयलाई गौरवको रूपमा लिँदै निर्देशक मिलन चाम्सले कथालाई न्यायपूर्ण ढंगले प्रस्तुत गर्ने विश्वास व्यक्त गरे। उनले चलचित्र नेपाली सिने क्षेत्रमा स्मरणीय कृतिका रूपमा स्थापित हुने अपेक्षा समेत व्यक्त गरे।