काठमाडौँ । क्याप्टेन रामेश्वर थापाको चर्चित संस्मरणात्मक कृति ‘इन्टो द फायर’ मा आधारित बहुप्रतिक्षित नेपाली चलचित्र ‘क्याप्टेन साब’ को छायांकन पूर्ण रूपमा सकिएको छ। बुधबार काठमाडौँमा चलचित्रको अन्तिम दृश्य खिचिएसँगै निर्माण टोलीले छायांकन प्याकअप भएको घोषणा गरेको हो। निर्देशक दीपेन्द्र के खनालका अनुसार विभिन्न उतारचढावका बीच दुई चरणमा गरी कुल ११ महिनामा चलचित्रको छायांकन पूरा भएको हो।
चलचित्रको छायांकन गत वर्षको साउन पहिलो साताबाट सुरु गरिएको थियो। तर, भदौ २३ र २४ गते देशव्यापी रूपमा भएको ’जेनजी आन्दोलन’ का कारण सुटिङ बीचमै रोकिन पुग्यो। त्यसपछि करिब ९ महिनासम्म छायांकन हुन नसक्दा यो चलचित्र अब बन्दैन कि भन्ने चर्चा समेत सिने बजारमा चलेको थियो। तर, सबै अड्कलबाजीलाई चिर्दै निर्माण टोलीले गत जेठको दोस्रो साताबाट काभ्रेमा चलचित्रको दोस्रो चरणको छायांकन सुरु गरेर बुधबार काठमाडौँमा अन्तिम रूप दिएको हो।
पटकथा प्रडक्सन, यार्सा स्टुडियो र रिच इन्टरटेन्मेन्टको संयुक्त प्रस्तुति रहेको यस चलचित्रले १० वर्षे माओवादी सशस्त्र द्वन्द्वको समयमा क्याप्टेन थापाले आफ्नो ज्यान जोखिममा मोलेर हेलिकप्टरमार्फत घाइते सुरक्षाकर्मी र सर्वसाधारणको उद्धार गर्दाका साहसिक र कारुणिक क्षणहरूलाई पर्दामा उतारेको छ। चलचित्रको लेखन, निर्माण र निर्देशन स्वयं दीपेन्द्र के खनालले गरेका हुन् भने कार्यकारी निर्मातामा अभिनेत्री सिर्जना नापित छिन्।
चलचित्रमा भर्सटायल अभिनेता खगेन्द्र लामिछाने, सुरक्षा पन्त र सन्जोग रसाइलीको मुख्य भूमिका रहेको छ। अभिनेता खगेन्द्रले पर्दामा क्याप्टेन रामेश्वर थापाको मुख्य चरित्र निभाएका छन् भने अभिनेत्री सुरक्षा पन्त उनकी श्रीमतीको भूमिकामा देखिँदै छिन्। यसअघि ब्लकबस्टर चलचित्र ‘धनपति’ मा एकसाथ देखिएको यो जोडीलाई पुनः पर्दामा हेर्न दर्शकहरू उत्सुक छन्। निर्माण पक्षले यसै वर्ष (२०८३) भित्रै चलचित्रलाई प्रदर्शन गर्ने योजना बनाएको जानकारी दिएका छन् ।