काठमाडौँ। निर्देशक राजबहादुर सानेको आगामी सिनेमा ‘गंगा रानी’मा नवोदित कलाकार रोशन केसी मुख्य अभिनेताको रूपमा अनुबन्धित भएका छन्।
करिब ५०० भन्दा बढी आवेदकमध्ये छनोट हुँदै रोशनले आफ्नो पहिलो चलचित्रमै मुख्य भूमिका पाएका हुन्। ‘गंगा रानी’ उनको डेब्यु सिनेमा बन्नेछ। यसअघि नै अभिनेत्री वर्षा सिवाकोटी मुख्य भूमिकाका लागि अनुबन्धित भइसकेकी छन्। चलचित्रमा रोशन र वर्षाको जोडी पहिलोपटक ठूलो पर्दामा देखिने भएको छ। केही म्युजिक भिडियोमार्फत अभिनय यात्रा सुरु गरेका रोशनले उत्कृष्ट कथा र अनुभवी टिमसँग काम गर्ने अवसर पाएकाले ‘गंगा रानी’बाट आफ्नो चलचित्र यात्रा सुरु गर्न पाउँदा उत्साहित रहेको बताएका छन्। निर्माण पक्षले वर्षा सिवाकोटीलाई अनुबन्धित गरेपछि थप कलाकार छनोटका लागि अडिसन आह्वान गरेको थियो। सोही अडिसनबाट रोशन मुख्य अभिनेताको रूपमा छनोट भएका हुन्। निर्देशक सानेका अनुसार सयौं प्रतिस्पर्धीबीचबाट पात्रअनुकूल देखिएकाले रोशनलाई अवसर दिइएको हो।
निर्देशक सानेले अडिसन प्रक्रियाबाट थप ३ अभिनेता र ३ अभिनेत्री छनोट गर्ने काम अन्तिम चरणमा पुगेको जानकारी दिएका छन्। उनका अनुसार बाँकी कलाकारहरूको नाम पनि चाँडै सार्वजनिक गरिनेछ।आहा फिल्म्सको प्रस्तुतिमा निर्माण हुन लागेको ‘गंगा रानी’का निर्माता कमलप्रसाद शर्मा हुन्। सानेकै लेखन तथा निर्देशन रहने चलचित्रको छायांकन आगामी भदौको दोस्रो सातादेखि सुरु गर्ने तयारी गरिएको छ। निर्देशक सानेले यसअघि ‘पाठशाला’, ‘द रिटर्न हिरो’, ‘लाटी’, ‘वृन्दावन’, ‘बिरंगना’, ‘डोली’, ‘गुड फ्रेन्ड’, ‘सिल्ली फो’, ‘बुलाकी’, ‘जुना’ र ‘सिटामोल’ लगायतका चलचित्र निर्देशन गरिसकेका छन्। यसैबीच, आहा फिल्म्सकै ब्यानरमा निर्माण भएको तथा सानेद्वारा निर्देशित चलचित्र ‘लज्जावती’ आगामी साउन २९ गतेदेखि प्रदर्शनमा आउने तयारीमा रहेको छ।