काठमाडौँ। काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३–०८४ मा अन्तर्राष्ट्रियस्तरको काठमाडौँ फिल्म फेस्टिबल आयोजना गर्ने घोषणा गरेको छ। कार्यक्रममा विदेशी पाहुनासहित विभिन्न देशका चलचित्रकर्मी र कलाकारलाई सहभागी गराइने जनाइएको छ।
आइतबार सार्वजनिक गरिएको नीति तथा कार्यक्रममा कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँलाई अन्तर्राष्ट्रिय सांस्कृतिक गन्तव्यका रूपमा स्थापित गर्ने उद्देश्यले फिल्म फेस्टिबल आयोजना गर्न लागिएको जानकारी दिइन्। महानगरले मौलिक कला, संस्कृति, परम्परागत सीप तथा ज्ञानको संरक्षण र पुस्तान्तरणलाई पनि प्राथमिकतामा राखेको छ। यसका लागि ऐतिहासिक, पुरातात्त्विक, सांस्कृतिक र वास्तुकलात्मक महत्व बोकेका निजी तथा संस्थागत भवनहरूको पुनर्निर्माण तथा सम्पदा बस्ती संरक्षणमा प्रोत्साहन गरिने नीति लिइएको छ। त्यसैगरी, काठमाडौँलाई खुला तथा जीवन्त संग्रहालय र सिर्जनशील सहरका रूपमा विकास गर्ने योजना पनि अघि सारिएको छ। महानगरभित्र रहेका मठ, मन्दिर, चैत्य, वहा–बही, ढुंगेधारा, पोखरी, गुम्बा, स्तूप, चोक, डबली, फल्चाललगायत ऐतिहासिक तथा सांस्कृतिक सम्पदाको अध्ययन, डिजिटल अभिलेखीकरण, नक्सांकन, मर्मत, जीर्णोद्धार र पुनर्निर्माणमार्फत संरक्षण, संवर्द्धन र प्रवर्द्धन गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।