काठमाडौं । चालू आर्थिक वर्षको वैशाख १ गतेदेखि जेठ २७ गतेसम्मको अवधिमा देशका विभिन्न स्थानमा घटेका प्राकृतिक तथा गैर-प्राकृतिक विपद्का घटनामा परी ९० जनाले ज्यान गुमाएका छन् ।
गृह मन्त्रालय अन्तर्गतको विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको तथ्याङ्क अनुसार यस अवधिमा कुल १ हजार ९ सय ८६ वटा विपद्का घटनाहरू दर्ता भएका छन् । विपद्का कारण ५ सय २० जना घाइते भएका छन् भने २ हजार ६ सय १३ परिवार प्रत्यक्ष रूपमा प्रभावित भएका छन् ।
प्राप्त विवरण अनुसार यो अवधिमा लेक लागेर सबैभन्दा बढी मानवीय क्षति भएको छ । ५० वटा लेक लाग्ने घटनामा परी २० जनाले ज्यान गुमाएका छन् भने ३१ जना घाइते भएका छन् ।
यस्तै, दोस्रो ठूलो क्षतिको कारण आगलागी बनेको छ । ६ सय ८६ स्थानमा भएका आगलागीका घटनामा १५ जनाको मृत्यु र ८५ जना घाइते भएका छन् । आगलागीबाट सबैभन्दा बढी ७३६ परिवार प्रभावित भएका छन्।
त्यस्तै चट्याङका १ सय ५० वटा घटनामा १४ जनाको मृत्यु र ८५ जना घाइते भएका छन् । त्यस्तै हावाहुरीका ४ सय २५ वटा घटनामा १३ जनाको मृत्यु र ६१ जना घाइते ९१,२१७ परिवार प्रभावित भएका छन् ।
प्राधिकरणका अनुसार सर्पदंशका २ सय ३ वटा घटनामा ९ जनाको मृत्यु र १४४ जना घाइते भएका छन् भने जनावर आक्रमणका ८७ वटा घटनामा ७ जनाको मृत्यु र ५२ जना घाइते भएका छन् ।
बाढीका ५४ घटनामा ४ जना र पहिरोका ११२ घटनामा ३ जना गरी मनसुनजन्य विपद्बाट ७ जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ ।
अन्य विपद्का घटनाहरू डुङ्गा पल्टिँदा २ जना, भारी वर्षाबाट १ जना, वन डढेलोबाट १ जना र हिउँ पहिरोमा परी १ जनाको मृत्यु भएको तथ्यांकमा उल्लेख गरिएको छ ।