काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का सांसद ज्ञानेन्द्र शाहीले नेपालको सीमा सम्बन्धी विषय अत्यन्त संवेदनशील राष्ट्रिय मुद्दा भएको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सीमा विवाद कुनै एक दल वा प्रतिपक्षको मात्र नभई सम्पूर्ण संसद र राष्ट्रकै साझा सरोकारको विषय भएको धारणा राखे। उनका अनुसार प्रधानमन्त्रीले नेपालले छिमेकी देशको भूमि मिचेको जस्तो अभिव्यक्ति दिएको विषयमा संसदले समयमै प्रश्न उठाउनुपर्ने भए पनि त्यसो हुन नसकेको बताए। शाहीले सीमा जस्तो विषयमा संसद गम्भीर हुनुपर्ने उल्लेख गर्दै भविष्यमा कुनै पनि सरकारले सीमासम्बन्धी निर्णय गर्दा ठूलो संवेदनशीलता अपनाउनुपर्ने बताए। उनले राष्ट्र र राष्ट्रिय अखण्डताभन्दा ठूलो कुनै कुरा नभएको भन्दै सबै नेपालीलाई एउटै माटोले जोडेको उल्लेख गरे। देशको इतिहास चुनाव, भाषण वा राजनीतिक गतिविधिबाट मात्र बनेको नभई बलिदान र राष्ट्रिय एकताबाट बनेको उनको भनाइ थियो। उनले संसदलाई देशका महत्वपूर्ण विषयमा गम्भीर छलफल गर्ने थलोका रूपमा प्रयोग गर्नुपर्नेमा जोड दिए।