काठमाडौँ । नेकपा एमाले संसदीय दलका नेता रामबहादुर थापाले देश गम्भीर राष्ट्रिय संकटको अवस्थामा पुगेको भन्दै त्यसको कारण र समाधानबारे गहिरो विश्लेषण आवश्यक रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले लामो समयदेखि संसद् अवरुद्ध हुनु र सदनभित्र जारी राजनीतिक संघर्षले संकटको संकेत दिएको बताए। उनका अनुसार संकटको स्रोत पहिचान नगरी समाधान सम्भव छैन।
थापाले संकट दुई प्रमुख घटनाबाट सुरु भएको एमालेको निष्कर्ष रहेको उल्लेख गरे। पहिलो कारण जेठ १७ गते प्रधानमन्त्रीले प्रतिनिधिसभाको रोस्ट्रमबाट दिएको अभिव्यक्ति रहेको उनले बताए। उनका अनुसार उक्त अभिव्यक्तिमा नेपालले भारतको केही भूमि मिचेको विषय उल्लेख हुनु नै विवाद र राजनीतिक संकटको मुख्य आधार बनेको हो। थापाले उक्त अभिव्यक्ति राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापतिको भारत भ्रमणको अघिल्लो दिन संसद्मा आकस्मिक रूपमा आएको भन्दै त्यसले राजनीतिक रूपमा गम्भीर सन्देश दिएको टिप्पणी गरे। उनले संकट समाधानका लागि घटनाको वास्तविक पृष्ठभूमि र कारणको गहिरो समीक्षा आवश्यक रहेको भन्दै संसद् पुनः सञ्चालन र राजनीतिक निकासका लागि सबै पक्ष जिम्मेवार हुनुपर्ने धारणा राखे।