काठमाडौँ । प्रतिनिधिसभाको बैठकमा श्रम संस्कृति पार्टीका सांसदहरूले सभामुखको कार्यशैलीप्रति तीव्र आपत्ति जनाउँदै संसद बैठकमा अवरोध गरेका छन्। बैठकमा बोल्नका लागि समय नै माग नगरेका सो पार्टीका सांसदहरूले आफूहरूले बोल्न पाउनुपर्ने अडान राखेका हुन्।
सभामुखले बैठकमा दलीय आधारमा रोष्ट्रम प्रयोग गरेर बोल्नका लागि विभिन्न दलका सांसदहरूलाई समय दिइरहेका थिए। दलका नेताहरूले बोलिसकेपछि सभामुखले राष्ट्रपति कार्यालयबाट प्राप्त पत्र पढेर सुनाउन लाग्दा श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज राईलगायतका सांसदहरूले आसनबाट उठेर विरोध जनाएका थिए। आफूहरूलाई पालो नदिई सभामुख अगाडि बढेको भन्दै उनीहरूले नियमापत्ति गरेका थिए।
सांसदहरूले उठेर अवरोध गरेपछि सभामुखले उनीहरूलाई बस्न आग्रह गर्दै समय माग नगरेका कारण पालो नदिइएको प्रष्टीकरण दिए। सभामुखले भने, ‘माननीय सदस्यहरूले समय माग नगर्नु भएकोले हो। मैले एक घण्टादेखि समय माग गर्नुहुन्छ भन्ने अपेक्षा गरेको थिएँ।’
सभामुखको जवाफपछि पनि केही बेर संसदमा भनाभन र अन्यौलको स्थिति सिर्जना भएको थियो।