काठमाडौँ। इरानको विदेश मन्त्रालयले संयुक्त राज्य अमेरिकाले इरानविरुद्ध गरेको सैन्य कारबाहीलाई “क्रूर आक्रमण” भन्दै कडा निन्दा गरेको छ। मन्त्रालयले यसलाई इरानको राष्ट्रिय सार्वभौमिकता र क्षेत्रीय अखण्डताको गम्भीर उल्लङ्घन भएको बताएको छ।
विज्ञप्तिअनुसार होर्मुज जलडमरूमध्यमा अमेरिकी सैन्य हेलिकप्टर दुर्घटनापछि अमेरिकाले इरानको दक्षिणी क्षेत्रमा आक्रमण गरेको दाबी गरिएको छ। उक्त घटनापछि इरानी सशस्त्र बलले आत्मरक्षाका रूपमा मध्यपूर्वमा रहेका अमेरिकी सैन्य अड्डा र सम्पत्तिमा जवाफी प्रहार गरेको जनाएको छ। इरानले क्षेत्रीय मुलुकहरूलाई आफ्नो भूमि र संरचना इरानविरुद्ध कुनै पनि आक्रामक गतिविधि, समर्थन वा सैन्य प्रयोगका लागि प्रयोग गर्न नदिन आग्रह गरेको छ। साथै, यस्ता गतिविधि जारी रहेमा थप जवाफी कारबाही गर्ने चेतावनीसमेत दिएको छ।
यसैबीच, इरानी विदेशमन्त्री सैयद अब्बास अराघचीले टर्कीका विदेशमन्त्री हाकान फिदान र साउदी अरबका विदेशमन्त्री फैसल बिन फरहानसँग छुट्टाछुट्टै टेलिफोन संवाद गर्दै पछिल्लो क्षेत्रीय अवस्थाबारे छलफल गरेका छन्। इरानको इस्लामिक रिभोलुसनरी गार्ड कोर (आईआरजीसी)ले बहराइन, कुवेत र जोर्डनमा रहेका अमेरिकी सैन्य अड्डाहरूमा मिसाइल तथा ड्रोन आक्रमण गरेको पुष्टि गरेको छ। उता, अमेरिकी सेन्ट्रल कमान्डले पनि इरानका लक्ष्यविरुद्ध “आत्मरक्षात्मक आक्रमण” गरिएको बताएको छ। दुबै देशबीचको बढ्दो सैन्य तनावले मध्यपूर्वको अवस्था थप संवेदनशील बनेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमहरूले जनाएका छन्।