काठमाडौँ । उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले राजनीतिमा प्रवेश गरेपछि विभिन्न चुनौती र अनुभवहरू सामना गर्नुपरेको बताएका छन्।
उनले आफूहरू षड्यन्त्रको शिकार बनेको दाबी गर्दै अब कुनै षड्यन्त्रको बाटो नअपनाई जनताको विश्वास जितेर पार्टीलाई सशक्त राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने बताएका हुन्। बुधबार काठमाडौँमा आयोजित पार्टी प्रवेश कार्यक्रममा बोल्दै घिसिङले राजनीतिमा सफल हुन विभिन्न पक्ष बुझ्नुपर्ने रहेछ भन्ने अनुभव आफूले प्राप्त गरेको बताए। उनले आफूहरू कहिल्यै षड्यन्त्रमा संलग्न नभएको तर विभिन्न राजनीतिक खेलको असर भने भोग्नुपरेको उल्लेख गरे। उनले उज्यालो नेपाल पार्टी अहिले संसदमा प्रतिनिधित्व नगरे पनि जनस्तरमा पार्टीप्रति आकर्षण र विश्वास बढ्दै गएको दाबी गरे। देशका विभिन्न ठाउँबाट पार्टीमा प्रवेश गर्नेहरूको संख्या बढ्दै जानु त्यसैको संकेत भएको उनको भनाइ थियो।
अध्यक्ष घिसिङले पार्टीको नेतृत्व र भविष्यप्रतिको भरोसाका कारण नागरिकहरू उज्यालो नेपालतर्फ आकर्षित भइरहेको बताउँदै आगामी निर्वाचनहरूमा पार्टीलाई बलियो राजनीतिक शक्तिका रूपमा स्थापित गर्ने लक्ष्य रहेको बताए। उनले भविष्यमा उज्यालो नेपाल पार्टीलाई देशकै प्रमुख राजनीतिक दल बनाउने संकल्पसमेत व्यक्त गरे। उनले पार्टीको स्वतन्त्र पहिचान कायम राख्ने प्रतिबद्धता जनाउँदै कुनै अन्य दलसँग विलय वा एकीकरण नगर्ने स्पष्ट पारे। आवश्यक परे एक्लै भए पनि पार्टीलाई अघि बढाउने उनको भनाइ थियो। यसक्रममा घिसिङले रामेछाप जिल्लाको उदाहरण दिँदै विगतमा वामपन्थीहरूको प्रभाव क्षेत्र मानिने उक्त जिल्ला अहिले उज्यालो नेपाल पार्टीको बलियो आधार क्षेत्रका रूपमा विकसित हुँदै गएको दाबी गरे।