काठमाडौँ। नेपाली कांग्रेसका सांसद भीष्मराज आङदेम्बेले लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै अभिन्न भूभाग भएको विषय विश्व समुदायलाई समेत जानकारी रहेको बताएका छन्।
उनले यस्ता संवेदनशील सीमा सम्बन्धी विषयको समाधान आवेग वा उत्तेजनाबाट नभई कूटनीतिक संवाद र आपसी समझदारीमार्फत खोजिनुपर्ने धारणा राखेका छन्। बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै आङदेम्बेले वर्तमान राजनीतिक अवस्था असामान्य रहेको उल्लेख गर्दै राष्ट्रिय स्वाभिमान र सार्वभौमिकताका विषयमा सबै पक्ष गम्भीर र संवेदनशील हुनुपर्ने बताए। उनले नेपालको संसदले लिपुलेक, कालापानी र लिम्पियाधुरासहितको नयाँ नक्सा सर्वसम्मत रूपमा पारित गरिसकेको स्मरण गराउँदै ती भूभाग नेपालकै भएको तथ्य स्थापित भइसकेको उल्लेख गरे। सांसद आङदेम्बेले सीमा विवादजस्ता विषय भावनात्मक प्रतिक्रिया वा राजनीतिक उत्तेजनाबाट समाधान नहुने भन्दै धैर्यता, गम्भीर संवाद र कूटनीतिक प्रक्रियामार्फत समाधान खोज्नुपर्नेमा जोड दिए।
नेपाल कहिल्यै कसैको उपनिवेश नबनेको उल्लेख गर्दै उनले नेपालीहरू स्वाभिमानी र स्वतन्त्र चेतनाका नागरिक भएको बताए। यस क्रममा उनले स्वर्गीय गायक गोपाल योञ्जन को चर्चित गीत स्मरण गर्दै नेपाली जनताको राष्ट्रिय भावना, स्वाभिमान र आत्मसम्मानको चर्चा गरेका थिए। आङदेम्बेले नेपाली नागरिक सगरमाथाजस्तै उच्च स्वाभिमान बोकेर बाँच्ने उल्लेख गर्दै राष्ट्रिय हित र भूगोलको विषयमा सबै राजनीतिक दल एकजुट हुनुपर्ने धारणा व्यक्त गरे। साथै, उनले हालै प्रधानमन्त्रीबाट आएको सीमा सम्बन्धी अभिव्यक्तिप्रति पनि असन्तुष्टि जनाउँदै छिमेकी मुलुकले नेपाली भूमि अतिक्रमण गरेको विषयलाई नेपालले पनि सीमा मिचेको जस्तो देखिने गरी व्याख्या गर्नु उपयुक्त नहुने टिप्पणी गरे। उनले सीमा विवाद समाधानका लागि परिपक्व कूटनीति, संवाद र राष्ट्रिय सहमतिलाई प्राथमिकता दिनुपर्नेमा जोड दिँदै नेपालको सार्वभौमिकता र राष्ट्रिय स्वाभिमानको रक्षा सबैको साझा दायित्व भएको बताए।