काठमाडौँ। राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुस्बु ओलीले नेपाललाई सनातन राज्य बनाउनुपर्ने विषयमा संसदमा धारणा राखेपछि आफूलाई सामाजिक सञ्जालमार्फत विभिन्न प्रकारका धम्कीहरू आइरहेको बताएकी छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले सनातन राज्यको पक्षमा अभिव्यक्ति दिएलगत्तै ज्यान मार्ने, बलात्कार गर्ने तथा भौतिक आक्रमण गर्ने चेतावनीहरू प्राप्त भइरहेको दाबी गरिन्। सांसद ओलीले नेपालमा बहुसंख्यक नागरिक सनातन धर्ममा आस्था राख्ने उल्लेख गर्दै संविधानले सुनिश्चित गरेको अभिव्यक्ति स्वतन्त्रताको अधिकार प्रयोग गर्दै आफूले सदनमा उक्त विषय उठाएको बताइन्। तर त्यसपछि आफूविरुद्ध सामाजिक सञ्जालमा योजनाबद्ध रूपमा धम्की र दुर्व्यवहार भइरहेको उनको भनाइ थियो। उनले यस्ता गतिविधि लोकतान्त्रिक अभ्यास र फरक विचारप्रतिको असहिष्णुताको उदाहरण भएको टिप्पणी गरिन्।
आफू व्यक्तिगत रूपमा धम्कीबाट नडराउने बताउँदै उनले यसलाई केवल आफ्नो व्यक्तिगत विषय नभई सनातन धर्मप्रति आस्था राख्ने समुदायमाथिको आक्रमणका रूपमा हेरेको बताइन्। सांसद ओलीले धर्मनिरपेक्षताको नाममा फरक धारणा राख्ने व्यक्तिमाथि धम्की र मानसिक दबाब सिर्जना गरिनु दुःखद भएको उल्लेख गरिन्। साथै, यस्ता घटनाबारे सम्बन्धित निकायले गम्भीर रूपमा अनुसन्धान गरी आवश्यक कदम चाल्नुपर्ने मागसमेत गरिन्। उनले अभिव्यक्ति स्वतन्त्रता र नागरिक सुरक्षाको प्रत्याभूति सुनिश्चित गर्न सरकार तथा सरोकारवाला निकायको ध्यानाकर्षण गराउँदै लोकतान्त्रिक मूल्य र अधिकारको सम्मान हुनुपर्नेमा जोड दिइन्।