काठमाडौँ। परराष्ट्रमन्त्री शिशिर खनालले हालै सम्पन्न भारत भ्रमणले नेपाल–भारत सम्बन्धलाई अझ सुदृढ र परिणाममुखी बनाउने महत्वपूर्ण आधार तयार गरेको बताएका छन्।
बुधबार प्रतिनिधिसभा बैठकमा भ्रमणबारे जानकारी दिँदै मन्त्री खनालले उक्त भ्रमण नेपालको सन्तुलित, स्वतन्त्र र बहुआयामिक परराष्ट्र नीतिलाई प्रभावकारी रूपमा प्रस्तुत गर्ने अवसर बनेको उल्लेख गरे। उनका अनुसार भ्रमणका क्रममा दुई देशबीच व्यापार र लगानी विस्तार, ऊर्जा क्षेत्रमा सहकार्य, पर्यटन प्रवर्द्धन, यातायात तथा पूर्वाधारमार्फत कनेक्टिभिटी विस्तार र जनस्तरको सम्बन्धलाई थप मजबुत बनाउने विषयमा सकारात्मक तथा अर्थपूर्ण छलफल भएको थियो।
त्यसैगरी, आपूर्ति शृङ्खला सुरक्षा, ऊर्जा साझेदारी तथा क्षेत्रीय र अन्तर्राष्ट्रिय चासोका समसामयिक विषयमा पनि दुवै पक्षबीच विचार आदानप्रदान भएको उनले जानकारी दिए। मन्त्री खनालले भ्रमणले नेपाल–भारत सहकार्यका विभिन्न क्षेत्रमा ठोस सम्भावना पहिचान गर्न मद्दत पुगेको उल्लेख गर्दै आगामी दिनमा त्यसलाई कार्यान्वयनतर्फ लैजान सहज वातावरण बनेको बताए। उनले भ्रमणका क्रममा भएका उच्चस्तरीय भेटवार्ता र संवादले दुई देशबीचको कूटनीतिक सम्बन्धलाई थप उचाइमा पुर्याउनुका साथै आर्थिक साझेदारीलाई पनि बलियो बनाउने विश्वास व्यक्त गरे। परराष्ट्रमन्त्री खनालका अनुसार नेपाल र भारतका साझा हितका विषयमा भविष्यमा अझ प्रभावकारी र परिणाममुखी सहकार्य अघि बढाउन यो भ्रमणले महत्वपूर्ण आधारशिला निर्माण गरेको छ।