काठमडौँ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव मदन भुजेलले सहकारी क्षेत्र नेपालको अर्थतन्त्रको महत्वपूर्ण आधार भएकाले यसको प्रवर्द्धन आवश्यक रहेको बताएका छन्।
बहुनियामक व्यवस्थाका कारण सहकारी क्षेत्रमा देखिएको अन्योलता र समाधानका उपायबारे आयोजित अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले सहकारी क्षेत्रलाई अघि बढाउनुको विकल्प नभएको स्पष्ट पारे। सचिव भुजेलले सरकार सहकारी क्षेत्रमा हस्तक्षेप गर्ने नभई सहयोगीको भूमिका निर्वाह गर्ने बताए। उनले भने, “सहकारी अर्थतन्त्रको महत्वपूर्ण अंग हो। यसलाई प्रवर्द्धन गर्नुको कुनै विकल्प छैन। सरकारले सहयोगी भूमिकामार्फत यसको विकासमा साथ दिन्छ, हस्तक्षेप गर्दैन।” उनका अनुसार सहकारीले पूँजी संकलन, लगानी विस्तार तथा रोजगारी सिर्जनामा महत्वपूर्ण योगदान पुर्याएको छ। साथै, समावेशीकरण, सशक्तीकरण र समग्र अर्थतन्त्रलाई गतिशील बनाउन पनि सहकारी क्षेत्रले उल्लेखनीय भूमिका खेलेको उनले बताए। सचिव भुजेलले सहकारी क्षेत्रको दिगो विकास र प्रभावकारी सञ्चालनका लागि नीतिगत सुधार र निकायगत समन्वय आवश्यक रहेको उल्लेख गर्दै सबै पक्षले यसको प्रवर्द्धनमा ध्यान दिनुपर्ने धारणा राखे।