धनगढी । कैलालीको धनगढीबाट प्रहरीले कटुवा पेस्तोल र विभिन्न शंकास्पद सामानसहित एक जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। धनगढी उपमहानगरपालिका वडा नम्बर ५ सत्कार चोक नजिकै डेरा गरी बस्ने २४ वर्षीय साहिल खानलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
विशेष सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मंगलबार राति साढे १० बजे खानको कोठामा आकस्मिक खानतलासी गरेको थियो।
चेकजाँचका क्रममा उनको कोठाबाट १ थान कटुवा पेस्तोल, १ थान खुकुरी र १ थान फलामको रड बरामद गरिएको छ। यसका साथै प्रहरीले चाँदीको करुवा १ थान, चाँदीजस्तो देखिने घाँटीमा लगाउने माला २ थान, डिजिटल काँटा १ थान, रेन्च १ थान र टर्चलाइट २ थान समेत बरामद गरेको छ।
बरामद गरिएका सामानको प्रकृति हेर्दा खान विभिन्न आपराधिक वा चोरीका घटनामा संलग्न रहेको हुन सक्ने प्रहरीको अनुमान छ। हतियारसहित पक्राउ परेका खानलाई अहिले जिल्ला प्रहरी कार्यालय कैलालीको हिरासतमा राखेर घटनाबारे थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।