काठमाडौँ । काठमाडौँको टोखा नगरपालिका वडा नम्बर ५ बसुन्धरास्थित एक गार्मेन्ट उद्योगमा भीषण आगलागी भएको छ । आगलागीबाट करिब ८ करोड रुपैयाँ बराबरको धनमाल नष्ट भएको प्रहरीले जनाएको छ। बुधबार बिहान बसुन्धरामा रहेको ‘सिद्धबाबा युनिफर्म इन्टरप्राइजेज’ (गार्मेन्ट) मा अचानक विद्युत सर्ट भई आगलागी भएको हो।
बुधबार बिहान करिब २ः५२ बजे सुरु भएको आगो नियन्त्रणमा लिन ११ वटा दमकल र एउटा पानी ट्याङ्कर परिचालन गरिएको थियो। नेपाल प्रहरी, नगर प्रहरी, स्थानीय बासिन्दा तथा अन्य सरोकारवाला निकायको झण्डै तीन घण्टा लामो सामूहिक प्रयासपछि बिहान ५ः४५ बजे मात्र आगो पूर्ण रूपमा नियन्त्रणमा आएको हो।
आगलागीबाट सिद्धबाबा गार्मेन्ट पूर्ण रूपमा नष्ट भएको छ। आगो फैलिँदा नजिकै रहेका अन्नपूर्ण किराना स्टोर र प्रतिक्षा इलेक्ट्रोनिक्समा समेत ठूलो क्षति पुगेको छ। यसैगरी, लुम्बिनी खाजा घर, क्यापिटल इन्टरनेशनल मेनपावर तथा आसपासका अन्य दुईवटा घरमा समेत आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ।
रातिको समयमा आगलागी भए पनि समयमै उद्धार कार्य सुरु भएकाले घटनामा कुनै मानवीय क्षति भने हुन पाएन। प्रहरीले दुर्घटनाको कारण र क्षतिको थप विवरणबारे अनुसन्धान गरिरहेको छ।