सुनसरी । सुनसरीको बराहक्षेत्रबाट प्रहरीले ठूलो परिमाणमा अवैध लागुऔषध गाँजा बरामद गरेको छ। बराहक्षेत्र नगरपालिका वडा नम्बर २ स्थित पटनाली जंगलबाट करिब ४ सय ३० किलो गाँजासहित एक थान मोटरसाइकल बरामद गरिएको प्रहरीे जनाएको छ ।
विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले १५ वटा प्लास्टिकका बोरामा प्याक गरिराखिएको अवस्थामा उक्त गाँजा फेला पारेको इलाका प्रहरी कार्यालय महेन्द्रनगरले जनाएको छ। गाँजा ओसारपसारमा प्रयोग भइरहेको को २४ प ६७४ नम्बरको मोटरसाइकल समेत प्रहरीले घटनास्थलबाट नियन्त्रणमा लिएको छ।
प्रहरी टोली आइरहेको थाहा पाएपछि गाँजा तस्करमा संलग्न व्यक्तिहरू भने फरार भएका छन्। बरामद गरिएको गाँजा र मोटरसाइकललाई अहिले इलाका प्रहरी कार्यालय महेन्द्रनगर, सुनसरीमा राखेर घटनाको थप अनुसन्धान भइरहेको छ भने फरार व्यक्तिहरूको तीव्र खोजी भइरहेको प्रहरीले जनाएको छ।