काठमाडौँ । वैदेशिक रोजगारीका लागि विभिन्न देश पठाईदिन्छु भन्दै ठग्ने छ जना पक्राउ परेका छन् । आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ पर्नेहरूमा काठमाडौं महानगरपालिका–१२ बस्ने स्याङ्जा घर भएका ६३ वर्षीय हुम बहादुर कुँवर, सोही महानगरपालिका–३ बस्ने सोलुखुम्बु घर भएका ३१ वर्षीय लोकेन्द्र बस्नेत, ललितपुर महालक्ष्मी नगरपालिका–३ बस्ने सुनसरी घर भएका ४९ वर्षीय तोरण कुमार कार्की, ललितपुर महानगरपालिका–१३ बस्ने रामेछाप घर भएका ३७ वर्षीय रबिन्द्र खत्री, काठमाडौं टोखा बस्ने गोरखा घर भएका ४२ वर्षीय निरज गुरूङ र भक्तपुर सूर्यविनायक नगरपालिका–२ बस्ने पर्सा घर भएका ४७ वर्षीया रिन्कु कुमारी रौनियार रहेका छन् ।
पक्राउ मध्ये हुम बहादुरले युके पठाइदिन्छु भन्दै २ जना पीडितहरूबाट ८८ लाख ७० हजार रूपैयाँ, लोकेन्द्रले हङकङ पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख ३० हजार रूपैयाँ, तोरण कुमारले सर्बिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ६ लाख रूपैयाँ, रबिन्द्रले बुल्गेरिया पठाइदिन्छु भन्दै १ जना पीडितबाट ३ लाख रूपैयाँ, निरजले आइसल्यान्ड पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ११ लाख ५६ हजार रूपैयाँ र रिन्कु कुमारीले सर्बिया पठाइदिन्छु भन्दै ४ जना पीडितहरूबाट ६ लाख रूपैयाँ लिई सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले हुम बहादुरलाई काठमाडौं महानगरपालिका–१२ बाट, लोकेन्द्रलाई काठमाडौं महानगरपालिका–७ बाट र तोरण कुमारलाई काठमाडौं महानगरपालिका–४ बाट सोमबार, रबिन्द्रलाई ललितपुर पुल्चोकबाट र निरजलाई काठमाडौं महानगरपालिका–२६ बाट शुक्रबार तथा रिन्कु कुमारीलाई भक्तपुर सूर्यविनायक नगरपालिका–२ बाट शनिबार पक्राउ गरेको हो ।
उनीहरूलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल काठमाडौं पठाइएको प्रहरीले जनाएको छ ।