काठमाडौँ । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ राईले राष्ट्रहितविरुद्धका अभिव्यक्ति रोक्न माग गर्दै प्रतिनिधिसभामा संकल्प प्रस्ताव दर्ता गरेका छन्।
मंगलबार बसेको बैठकमा उनले राष्ट्रको सार्वभौमिकता र राष्ट्रिय हितसँग सम्बन्धित विषयमा जिम्मेवार अभिव्यक्ति दिनुपर्ने आवश्यकता औंल्याउँदै उक्त प्रस्ताव पेस गरेका हुन्। उनले जेठ १७ गतेको आकस्मिक बैठकमा प्रधानमन्त्रीको नेपाल–भारत सीमासम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई संसद्को अभिलेखबाट हटाउनुपर्ने माग गरे। संकल्प प्रस्तावमार्फत उनले प्रधानमन्त्री, मन्त्री तथा सांसदहरूले राष्ट्रहितविपरीत अभिव्यक्ति दिन नपाउने व्यवस्था गर्नुपर्ने र राष्ट्रिय विषयमा सबै दल एकताबद्ध भएर अघि बढ्नुपर्ने धारणा राखे।