काठमाडौँ । नेकपा एमालेका सांसद क्षितिज थेवेले प्रधानमन्त्रीको राष्ट्रिय सीमा सम्बन्धी अभिव्यक्तिप्रति आपत्ति जनाउँदै त्यसलाई सच्याएर संसदमा माफी माग्नुपर्ने माग गरेका छन्।
मंगलबार प्रतिनिधिसभा बैठकमा बोल्दै उनले राष्ट्रिय हित र सुरक्षा जस्तो संवेदनशील विषयमा सबै दल एकजुट हुनुपर्ने बताए। उनले सांसदहरूको मुख्य जिम्मेवारी संविधानअनुसार राष्ट्रिय हितमा कानुन निर्माण गर्नु भएको उल्लेख गर्दै आफूहरू विरोधका लागि नभई गम्भीर विषयमा धारणा राख्न उभिएको स्पष्ट पारे। थेवेले राष्ट्रिय सीमा कुनै दल विशेषको मात्र नभई सम्पूर्ण राष्ट्रसँग जोडिएको विषय भएकाले यसलाई राजनीतिक रूपमा होइन, राष्ट्रिय दृष्टिकोणले हेर्नुपर्ने बताए। सत्तापक्षले पनि सहीलाई सही र गलतलाई गलत भन्नुपर्ने अपेक्षा उनले व्यक्त गरे।उनले प्रधानमन्त्रीको अभिव्यक्तिले सीमा सुरक्षा सम्बन्धी संवेदनशीलतामा प्रश्न उठाएको भन्दै त्यसलाई सच्याएर माफी माग्न आग्रह गरे। साथै, यस्तो विषयमा संसद र राजनीतिक दलहरू एकजुट हुनुपर्नेमा उनले जोड दिए।