काठमाडौँ । काठमाडौँ महानगरपालिकालाई ‘सहयोगापेक्षी, बेसहारा, अभिभावकविहीन तथा सडकआश्रित मानवमुक्त’ घोषणा गरिएको छ। काठमाडौँ महानगरपालिका, मानवसेवा आश्रम, जिल्ला प्रशासन कार्यालय काठमाडौँ तथा प्रहरी प्रधान कार्यालयको संयुक्त पहलमा सोमबार आयोजित कार्यक्रममा उक्त घोषणा गरिएको हो।
कार्यक्रममा बोल्दै महानगरपालिकाकी कार्यवाहक प्रमुख सुनिता डंगोलले काठमाडौँ देशका विभिन्न क्षेत्रबाट शिक्षा, स्वास्थ्य, रोजगारी तथा अन्य अवसरको खोजीमा आउने मानिसहरूको प्रमुख गन्तव्य भएकाले सडकआश्रित तथा सहयोगापेक्षी नागरिकमुक्त शहर निर्माण गर्नु चुनौतीपूर्ण कार्य रहेको बताइन्। उनले सडकमा आश्रय लिन बाध्य भएका, बेसहारा तथा सहयोगको आवश्यकता भएका व्यक्तिहरूको व्यवस्थापन सहज नभए पनि सम्बन्धित निकाय र नागरिक समाजबीचको सहकार्यले यो अभियानलाई सफल बनाउन महत्वपूर्ण भूमिका खेलेको उल्लेख गरिन्।
डंगोलले महानगरपालिकाले मानव सेवा फाउन्डेसनलगायत विभिन्न संस्थासँग सहकार्य गर्दै सडकआश्रित व्यक्तिहरूको उद्धार, संरक्षण तथा पुनर्स्थापनाका लागि निरन्तर काम गरिरहेको जानकारी दिइन्। साथै, सडकमा असहाय वा सहयोगापेक्षी व्यक्ति देखिएमा महानगरको कल सेन्टरमा जानकारी गराई सहयोग गर्न उनले नागरिकलाई आग्रह गरिन्। महानगरपालिकाले यस घोषणालाई मानवीय सेवाप्रतिको प्रतिबद्धता र सामाजिक उत्तरदायित्वको महत्वपूर्ण उपलब्धिका रूपमा लिएको जनाएको छ।