काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गलत विवरण पेस गरी अर्काको छोरीलाई आफ्नी छोरी बनाई नक्कली नागरिकता दिलाएको अभियोगमा वीरगञ्ज महानगरपालिकाका नगर प्रमुख (मेयर) राजेशमान सिंहसहित ६ जनाविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ । अख्तियारले सोमबार (जेठ २५ गते) एक प्रेस विज्ञप्ति जारी गर्दै उक्त कुराको आधिकारिक जानकारी दिएको हो ।
मेयर सिंहले भट्टराई थर भएकी महिला (रिता भट्टराई) को छोरी रुबीना श्रेष्ठलाई आफ्नी छोरी दाबी गर्दै गलत विवरणका आधारमा जन्मदर्ता र नागरिकता दिलाउन मुख्य भूमिका खेलेको अनुसन्धानबाट खुलेको छ ।
अख्तियारका अनुसार मेयर राजेशमान सिंहले वीरगञ्ज महानगरपालिका वडा नं. ३ का तत्कालीन पदाधिकारी र जिल्ला प्रशासन कार्यालय पर्साका कर्मचारीहरूसँगको मिलेमतोमा यो गैरकानुनी कार्य गरेका हुन् । सिंह आफैँ सूचक बनेर झुठा विवरणसहितको फाराम भरी २०७१ साल कात्तिक २० गते वडा कार्यालयबाट रुबीनाको जन्मदर्ता प्रमाणपत्र लिएका थिए । सोही जन्मदर्ताको आधारमा वडाबाट नागरिकताको सिफारिस गराई २०७५ साल साउन १३ गते जिल्ला प्रशासन कार्यालय पर्साबाट रुबीना श्रेष्ठको नाममा नागरिकता जारी गराइएको अख्तियारको विज्ञप्तिमा उल्लेख छ ।
कागजात जारी गर्ने क्रममा जानीबुझी गलत लिखत तयार पारेको र सरकारी निकायको कागजातमा अनाधिकार एवं गैरकानुनी तरिकाले सच्याउने, केरमेट गर्ने, थपघट गर्ने तथा प्रमाण नष्ट गर्नेसम्मका कार्य प्रतिवादीहरूले गरेको पाइएको छ ।